नेपाल तरूण दलले आफ्ना बझाङस्थित एक जना कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरूले खुँडा प्रहार गरी हत्या गरेको बताएको छ।
बझाङको छबिसपाथिभरा गाउँपालिका अन्तर्गत बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन सकेर मंगलबार घर फर्कंदै गरेका तरूण दलका अमृत सिंहलाई नेकपा कार्यकर्ताले खुँडा प्रहार गरेको तरूण दलले जनाएको छ।
तरूण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर नेकपामा ज्ञानबहादुर कडायत, प्रकाश ऐडीलगायतले अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गरेको उल्लेख गरेका छन्।
‘नेकपाका ज्ञानबहादुर कडायत, प्रकाश ऐडीलगायत आपराधिक जत्थाले सत्ता र शक्तिको आडमा वडा नम्बर ३ का अध्यक्ष विकास ऐडीलगायतका आपराधिक जत्थाले सरकारी मोटरसाइकल प्रयोग गरी नेपाल तरूण दल छबिसपाथिभरा गाउँपालिका सदस्य अमृत सिंहलाई माघ १३ गते साँझ स्थानीय बजारको बीच सडकमै खुँडा प्रयोग गरी निर्ममतापूर्वक हत्या गरिएको घटनाको तरूण दल घोर निन्दा र भर्त्सना गर्दछ,’ बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै तरूण दलले बझाङ तरूण कार्यसमितिलाई कडाभन्दा कडा कार्यक्रम ल्याउन पनि निर्देशन दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तरूण दलले हत्यामा सम्लग्नहरूलाई छिटोभन्दा छिटो कानुनको कठघरामा ल्याउन र हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेको छ।
यसैबीच नेविसंघले सिंहको हत्या विरोधमा आज काठमाडौंमा त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।