प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसले नमस्कारलाई स्वागत गरेको बताएका छन्।
सामाजिक दूरी कायम गरी शिष्टता र मर्यादा कायम गर्न नमस्कार उपर्युक्त भएकोले नमस्कारको पुनर्जागरण भएको प्रधानमन्त्रीको भनाइ छ।
‘कोरोनाले नमस्कारलाई वेलकम गर्यो, ह्याण्डसेकलाई बाइबाइ,’ कोरोनाविरूद्ध खोप अभियानको आज सुरूवात गर्दै प्रधानमन्त्री ओलीले भने।
उनले कोरोना महामारीले करिब एक वर्ष विथोलेको पनि बताए। अब कोरोनाविरूद्ध खोप आइसकेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले कोरोना लागेर निको भएकाहरूलाई बधाइ दिएका छन्।
भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा प्रधानमन्त्रीले धन्यबादसमेत दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले अरू देशका तुलनामा नेपालमा कोरोनाबाट क्षति कम भएको बताएका छन्। नेपालमा ८२ स्थानबाट कोरोनाको परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको भनाइ छ।
खोप प्रारम्भ भए पनि मास्क लगाउन र सामाजिक दूरी कायम गर्न प्रधानमन्त्रीको आग्रह छ।