नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा थप आन्दोलन गर्ने निर्णय गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई जानकारी दिए।
उनकाअनुसार माघ १९ गते देशैभर भातृ संस्थाहरूको नेतृत्वमा सरकारविरूद्ध प्रदर्शन हुने निर्णय भएको छ।
यस्तै माघ २४ देशभर शुभेच्छुक संस्थाहरूको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने पनि निर्णय भएको हो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फाउन ३ गते जिल्ला कार्यसमितिको नेतृत्वमा आ-आफ्नो जिल्लामा प्रदर्शन हुनेछ।
यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ।
माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ।
यसअघि कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह र गाउँ/नगरका वडामा प्रदर्शन गरेको थियो। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउनुपर्ने बताइरहेको छ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।