सोमबार बृहत् नागरिक आन्दोलन-२०७७ ले प्रतिनिधि सभा विघटनविरूद्ध मार्चपासको कार्यक्रम आयोजना गरेको थियो।
त्यसमा लेखक, पत्रकार, कवि, विद्यार्थी प्राध्यापक, राजनीतिज्ञ पनि थिए।
जुलुस कमलपोखरीबाट बालुवाटारतर्फ सोझिएको थियो।
बालुवाटार पुग्ने मुख्य बाटो भाटभटेनीछेउ प्रहरीले रोक्यो। त्यहाँ ठूलो संख्यामा प्रहरी खटाइएका थिए।
सभा र जुलुससँगै नागरिक अगुवाहरूले स्वेच्छिक गिरफ्तारी दिन खोजेका थिए। त्यसक्रममा उनीहरू प्रहरीको घेरानजिक पुगेका थिए।
त्यसरी जानेहरूमाथि प्रहरीले लगालग लाठी बर्साउन थालेको थियो। प्राध्यापक, विद्यार्थी, लेखकहरूमाथि लाठी बर्साएसँगै प्रहरीले पानीको फोहोरा पनि फाल्यो। प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतलाई पनि पक्राउ गरेको थियो।
के भयो बालुवाटारमा सोमबार? नेकपा नेता रघुजी पन्तले घटनाबारे सुनाए:
म आज नागरिक आन्दोलनमा एउटा लेखक र पत्रकारको भूमिकामा गएको थिएँ।
नागरिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउन मात्र गएको थिएँ। म जुलुसको पछाडि नै थिएँ। ऐक्यवद्धता पनि होस् भनेर मैले एउटा नागरिकको भूमिकामा गएको थिएँ।
भाटभटेनीनजिक विरोध कार्यक्रम भइरहेको थियो।
हामी प्रहरीको प्रतिरोध तोडेर स्वच्छिक गिरफ्तारी दिने तयारी गरिरहेका थियौं। प्रहरीले यस्तो नराम्री लात्ती र लाठीले हान्यो कि त्यतिले नपुगेर पानीको फोहोरा नै बर्सायो।
मेरो अगाडि प्राध्यापक, लेखक, विद्यार्थीहरू लडे। म निथ्रुक्क पानीले भिजेँ। साथीहरूलाई उठाउँदै थिएँ।
त्यहाँ कल्पना गरिएको भन्दा बढी दमनको स्थिति बन्यो।
आफ्नै अगाडि प्राध्यापकहरू, पत्रकार साथीहरू घाइते भएको देख्न नसकेपछि बचाउन के लागेको थिएँ, दुई तीन लाठी खाइहालेँ।
आज जे भयो त्यो सरकारको असहिष्णुता र अलोकतान्त्रिक थियो।
नागरिक समाजका अगुवा निहत्थाहरूमाथि दमन भयो। लोकतन्त्र भनेको नागरिकको सक्रिय सहभागिता हो। एउटा नागरिकको रूपमा ऐक्यबद्धता जनाउँदा म पनि घाइते भएँ।
२०६२/६३ मा पनि मैले लाठी खाएको थिएँ। यो दु:खद् र अलोकतान्त्रिक छ। नागरिक समाजको सामान्य विरोध पनि सहन नसक्ने सरकारले लोकतन्त्रको कसरी रक्षा गर्न सक्छ?
जसरी नागरिकहरू संसद विघटनको विरोधमा निस्केका छन्, अब हरेक जिल्लाका हरेक सहरमा नागरिक उठ्नुपर्छ। थाप्लोमा लाठी खाएर प्रतिरोधको आवाजलाई देशभर पुर्याउन अब हामी लाग्छौं।