नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू आज छलफलमा जुट्न लागेका छन्।
महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरू सोमबार मध्यान्ह १२ बजे छलफल गर्ने तय भएको छ।
‘भोलि बस्ने केन्द्रीय समितिमा हुने छलफल, पार्टी महाधिवेशनलगायत विषयमा छलफल केन्द्रीत हुन्छ,’ एक नेताले सेतोपाटीसँग भने।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।
दुई चरणमा आन्दोलन गरेको कांग्रेसले भोलिको केन्द्रीय समितिबाट थप आन्दोलनका कार्यक्रम ल्याउने सम्भावना छ।
वरिष्ठ नेता पौडेल थप आन्दोलनका कार्यक्रम ल्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिनुपर्ने पक्षमा छन्।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले सेतोपाटीसँग कुराकानी गर्दै महामन्त्री निवासमा छलफलको कार्यक्रम रहेको जानकारी दिए।