नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर ‘कू’ गरेको बताएका छन्।
आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेपालले पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको र त्यो असंवैधानिक भएकोले ‘कू’ भएको बताएका छन्।
‘उहाँले कू गर्नुभयो,’ उनले भने, ‘उहाँ कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नभएकोले स्पष्टिकरण सोधिएको छ। उहाँले जवाफ दिनुभएको छैन।’
ओलीलाई आफूहरूले अध्यक्ष हटाइसकेको उनको भनाइ थियो।
ओली हिटलरको नेपाली रूप भएको आरोप पनि उनको छ। हिटलरकै बाटोमा ओली हिँडेकोले विरोध गर्नुपरेको नेपालको भनाइ छ।
ओलीसँग ५० वर्ष संगत गरेको बताएका नेपालले जहिले पनि हैरान पार्ने मानिसका रूपमा ओलीलाई चित्रण गरेका छन्। आफूलाई अप्ठ्यारो पर्दा ओलीले प्रतिनिधि सभा नै सिध्याइदिएको नेपालको भनाइ थियो।
ओलीलाई अरिंगाल र साइबर सेना मन पर्ने पनि उनले बताएका छन्। ओलीका साइबर सेनाले विशाल पार्टीसँग सामना गर्न नसक्ने पनि उनले बताएका छन्।
‘अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्- सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छु,’ उनले भने।
ओलीलाई सुधार्न आफूले कोशिस गरेको पनि नेपालको भनाइ थियो।