संयुक्त राज्य अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले बुधबार सपथ लिए। त्यही दिन अमेरिकाले पहिलो पटक महिला उपराष्ट्रपति पायो। भारतीय आमा र अफ्रिकन बाबुकी सन्तान कमला ह्यारिस उपराष्ट्रपति बनिन्।
अमेरिकाको संसद भवनमा बाइडेन-ह्यारिसको सपथ ग्रहण कार्यक्रम गरिएको थियो। सपथ ग्रहणमा औपचारिक पोसाक लगाएर पूर्वराष्ट्रपतिदेखि अरू भिभिआइपी पनि सहभागी थिए।
सपथ समारोहमा डेमोक्र्याटिक पार्टीका ७९ वर्षीय सिनेटर बर्नी स्यान्डर्स पनि उपस्थित थिए। उनी अरूजस्तो सुटबुट लगाएर आएका थिएनन्। ज्याकेट र हातमा बाक्ला पञ्जा लगाएर बसेका थिए।
अहिले स्यान्डर्सको सो तस्बिरले संसारभरि चर्चा पाइरहेको छ। कतिपयले उनको तस्बिर प्रयोग गरेर मिम बनाइरहेका छन्। नेपालमा पनि त्यो क्रम सुरू भएको छ।
समाचार संस्था एपीका अनुसार उनले लगाएका पन्जा प्रशोधन भएका सामग्रीबाट बनेका हुन्।
अमेरिकाको राष्ट्रपतिजस्तो व्यक्तिको सपथ ग्रहण कार्यक्रममा सामान्य पोशाकमा झुल्किएका उनले सबैको ध्यान ताने।
फोटोग्राफरहरूले धमाधम उनका तस्बिर खिचे।
कुर्चीमा हात बाँधेर बसेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। आफ्नो पहिरनबारे चर्चा भएपछि उनले फेसन देखाउनभन्दा पनि न्यानो बनाएको प्रतिक्रिया दिएका छन्।
'तपाईंहरूलाई थाहा छ कि भर्मोन्टमा हामी न्यानो हुनेगरी लुगा लगाउँछौं, हामीलाई चिसोबारे थाहा छ र हामीलाई राम्रो फेसनबारे खासै चिन्ता लाग्दैन, हामी न्यानो बनाउन चाहन्छौं। र मैले त्यहि गरें,' स्यान्डर्सले बुधबार सिबिएससँग भने।
स्यान्डर्सका तस्वीरलाई इन्टरनेट प्रयोगकर्ताले फोटोसप गरी विभिन्न तस्वीरहरूसँग जोडेका छन्।
उनी कुर्चीमा बसेको तस्वीर केहिले सिनेमाको तस्वीरसँग जोडेका छन् त केहीले बेलायतको राजपरिवारसँग बसेको।
नेपालीहरूले पनि फोटोसप गरेर उनको तस्बिर राख्न थालेका छन्। एउटा मिममा स्यान्डर्सलाई ललितपुरको पाटन दरबार स्क्वायरमा बसेका बाजेहरूसँगै राखिएको छ। अर्को तस्बिरमा उनलाई सगरमाथाको बेस क्याम्पमा बसाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको छेउमा पनि उनको तस्बिर राखिएको छ।
स्यान्डर्सले लगाएको ज्याकेटभन्दा धेरै ध्यान उनको पन्जाले तानेको छ। जुनभर्मोन्ट प्राथमिक विद्यालयकी शिक्षिकाले प्रशोधन गरेको ऊनबाट पञ्जा बनाएकी थिइन्।
'उनले राम्रो मानेर लगाएको मलाई मनपर्यो,' शिक्षिका जेन एलिसले एनइसिएन-टिभीसँग भनिन्,'स्यान्डर्सले पञ्जाले लगाएकोमा आफूलाई सम्मानित भएको महसुस गरेकी छु।'