नेपाली कांग्रेसले रूकुम पश्चिममा भएको घटनामा सम्लग्नलाई कारबाही गर्न माग गरेको छ।
आठबीसकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित ५ जनालाई मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकसहितको टोलीले चक्कु प्रहार गरी घाइते बनाएको कांग्रेसको भनाइ छ।
‘इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला सुरक्षाकर्मीकै अगाडि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनामा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी र दीपक केसी गम्भीर घाइते भएको कांग्रेसको भनाइ छ। घाइतेको नेपालगञ्ज र दुई जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको पौडेलले बताए।
‘घटनामा संलग्न आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न तथा घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गर्दछ,’ उनले भनेका छन्, ‘भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ।’