काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति सिफारिस भएका तीन व्यक्तिको योग्यता र मापदण्डबारे प्रश्न उठाएको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा तीन व्यक्तिको नाम सिफारिस गरेपछि संघले त्यसबारे प्रश्न गरेको हो।
शिक्षामन्त्री श्रेष्ठ नेतृत्वको सर्च कमिटीले हालका उपकुलपति डा. रामकण्ठ माकाजु, पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको छ।
तर, समितिले औपचारिक रुपमा ती नाम सार्वजनिक गरिसकेको छैन।
‘कस-कसलाई सिफारिस गरिएको हो त्यो अहिले भन्न मिल्दैन,’ सर्च कमिटीका एक सदस्यले सेतोपाटीसँग भने।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा छन्। कमिटीले माकाजु, थापा र लुइँटेलको नाम सिफारिस गरेको सूचना बाहिर आएको छ।
सर्च कमिटीले सार्वजनिक रुपमा आवेदन माग्दा ४० जनाबढीले आवेदन दिएका थिए। तीमध्ये सिफारिस गरिएका नाम के कति कारणले र कुन मापदण्डअनुसार सिफारिस गरियो भन्ने सार्वजनिक चासोको विषय भएकाले प्रष्ट पार्न पनि संघले माग गरेको छ।
प्राध्यापक संघले आवेदकको नामावली र योग्यताको मापदण्ड प्रकाशित नगरी छनोट गर्नु अपारदर्शीसमेत भएको दाबी गरेको छ।
संघले समितिमा एउटै व्यक्तिलाई पटक-पटक मनोनयन गरिनु र ती व्यक्तिले एउटै व्यक्तिलाई पटक-पटक उपकुलपतिका लागि सिफारिस गरिनु समग्र शिक्षा क्षेत्रमै गलत पद्धतिको उदाहरणका रुपमा चित्रित भएको दाबी गरेको छ।
चार वर्षअघि पनि सर्च कमिटीमा शर्मा र ढुंगाना नै थिए। यसपटक पनि उनीहरू रहेको समितिले हालकै उपकुलपति माकाजुको नाम पहिलो नम्बरमा समावेश गरेको छ।
माकाजु दुई कार्यकालसम्म उपकुलपति भइसकेका छन्। उनी तेस्रो कार्यकालका लागि ‘लबिङ’मा छन् र प्राध्यापक संघको आपत्ति पनि उनीतिरै लक्षित छ।
‘पटक-पटक आर्थिक, नीतिगतलगायत अन्य अनियमितता र विवादमा परेका, दुई वा दुईभन्दा बढी कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुन: सिफारिस गरिनुमा अनैतिक साँठगाँठ रहेको भन्ने आशंका पैदा हुन्छ,’ संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसो गरिनु सुशासन, लोकतान्त्रिक विधि, पद्धति र मूल्यमान्यता विपरीत छ।’
प्राध्यापक संघले दुई कार्यकाल पूरा गरिसकेका उम्मेदवारलाई नियुक्त नगरी योग्य, सक्षम र कहीँकतै विवादित नभएको व्यक्ति उपकुलपति नियुक्त गर्न माग गरेको छ। त्यसले शिक्षाक्षेत्रको गरिमा र स्वाभिमान कायम हुने पनि संघको भनाइ छ।