नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रचण्ड र माधव नेपालले पदका लागि नभई ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन्।
दाङको तुलसीपुरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले नेकपा विवाद अमुक नेताबीचको पदीय भागबण्डा र वा सुख सुविधा प्राप्तिको झगडा नभई विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको दाबी गरे।
केपी ओली समूहले अलोकतान्त्रिक र असंवैधानिक प्रतिनिधिसभा विघटनलाई ढाकछोप गर्न पदीय झगडालाई बहाना बनाएको उनको टिप्पणी थियो। ओलीले गत जेठमै प्रतिनिधिसभा विघटनको तयारी गरेपछि प्रचण्डले संसदको पाँच वर्षे कार्यकाल मध्ये आधाआधा अवधि सरकारले नेतृत्व गर्ने लिखित सहमतिबाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबद्धता गरेको पुनले खुलासा गरे।
‘ओली गुटले केही नेताहरुको मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोशिस गरेको छ’, पुनले भने , ‘पदावधिका आधारमा आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति पनि गरेका थियौं। तर, केपी ओलीले विचार, सिद्धान्त, विधि र पद्धतिका लागि भएको लडाईंलाई ओली–प्रचण्डको लडाई, ओली–माधव नेपालबीचको लडाईं भन्ने जस्तो बनाएपछि प्रचण्डले तपाईं नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस्। पार्टी अध्यक्ष पनि तपाईं नै हुनुस्। कार्यकारी अधिकार मलाई दिनुस् म पार्टी अगाडि बढाउँछु भन्ने प्रस्ताव गर्नुभभएको हो।’
पार्टी एकता गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रबीच विधिमा आधारित, पद्धतिमा आधारित र जनतामा आधारित कम्युनिष्ट पार्टी निर्माण गर्दै शान्तिपूर्ण प्रतिस्पर्धामार्फत समाजवादको दिशामा अघि बढ्ने सहमति भएकामा ओलीले उक्त सहमति तोडेर एक्लै अघि बढ्न खोजेको उनको आरोप छ।
प्रचण्ड र माधव नेपालबीच ४० वर्ष लामो सहकार्य रहेको तथा नेपालको विधि र पद्धतिप्रतिको निष्ठा तथा प्रचण्डको जुझारु प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टी हुने उनको भनाइ थियो।
लामो समय बहुदलीय जनवादमा आधारित भएर लोकप्रिय जनमत निर्माण गर्न सफल एमालेको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनालजस्ता नेता तथा जनयुद्वको नेतृत्व गरेका प्रचण्डसँगै भएपछि कम्युनिष्ट आन्दोलनको मुलधार आफूहरु नै हुने पुनको दाबी छ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नको अभावमा हरेका जनतालाई अभावबाट मुक्त गर्ने र समाजवादको दिशामा अघि बढ्ने कुरामा केपी ओली तयार हुनुभएन’, पुनले भने, ‘हामी गणतन्त्रका लागि लड्दा उहाँ नेपालमा राजतन्त्र अन्त्य हुनु र बलयगाढा चढेर अमेरिका जानु उस्तै हो भन्नुहुन्थ्यो, अहिले त्यही ठाउँमा फर्कनुभएको छ।’
ओलीको प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक र गैरसंवैधानिक कदमको प्रतिवाद गर्ने र सच्याउन बाध्य पार्ने उनको भनाइ छ।
प्रचण्ड र माधव नेपाल एक अर्कामा टाँसिएको नभई विचार, पद्धति र सोचाई मिलेकाले सँगै भएको तर्क पुनको छ।