नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिले अदालतलाई 'तह लगाउने' धृष्टताले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्।
संविधानमा अहिलेको जस्तो सरकारले संसद विघटन गर्न मिल्ने प्रावधान नै नरहेको भन्दै उनले दुई जना मिलेर संविधानकै अपहरण गरेको आरोप लगाए।
नेपाली कांग्रेसले गरेको देशव्यापी विरोध प्रदर्शनक्रममा चितवनको शारदानगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले न्यायालयले न्याय दिने विश्वास व्यक्त गरे।
'म सम्मानित न्यायाधीशहरूलाई आग्रह गर्छु, संविधान अक्षरस पढेर जनता र राष्ट्रलाई न्याय दिनुपर्यो,' उनले भने, 'राष्ट्रघाती कदमलाई सच्याउन तपाईंहरूले गम्भीररूपमा संविधान पढ्नु आवश्यक छ।'
पौडेलले प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना हुँदैन भनेर अदालतलाई प्रभावमा पार्न खोजेको बताए।
'यसविरूद्धमा काउन्टर आन्दोलन हो कांग्रेसको,' उनले भने, 'ओली सरकारको म्याद अब धेरै छैन।'
उनले संविधानलाई जोगाउन एक हुन कार्यकर्तालाई आग्रह गरे।
'केपी ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि आक्रमण गरे', उनले भने, 'लोकतन्त्र बचाए चुनावमा भाग लिन पाइरहन्छौं, लोकतन्त्र नै नरहे चुनावको केही अौचित्य रहन्न।'
उनले आफ्नो दलका नेता, कार्यकर्ताहरूलाई लोभ नगरी संसद पुनर्स्थापनाका लागि संघर्षमा उत्रन आग्रह गरे।
पार्टी सभापति देउवाले प्रधानमन्त्री बन्ने लोभमा निर्वाचन स्वीकार गर्न सक्ने भन्दै पौडेलले तालुमा आलु फल्ने भयो भनेर नलोभिन आग्रह गरे।