उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले देशमा चुनावको विकल्प नभएको बताएका छन्। जनताबाट जनादेश ल्याउन पनि अहिलेको अवस्थामा चुनाव नै अन्तिम विकल्प भएको उनले दाबी गरे।
शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले चुनाव हार्ने डरले चुनाव हुँदैन र हुन सक्दैन भन्नु जनादेश विपरित हुने बताए।
हुँदा खादाको सरकार ढाल्न सडकमा जाने र चुनाव पनि हुँदैन भन्नेको विश्वास गर्न नसकिने उल्लेख गर्दै रायमाझीले प्रचण्ड, नेपालको आलोचना गरे। आफ्नै पार्टीको दुई तिहाई सरकार बिरूद्व सडकमा जाने कदम गलत भएको दावी गर्दै संसदमा फेस गर्न नसकेपछि सडकबाट अराजक र उदण्ड मच्चाउनेप्रति विश्वास गर्न नसकिने बताए।
नेकपा विवादपछि ओली समूहका केन्द्रिय नेता रायमाझीले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अग्रगामी भएको दाबी गर्दै आफ्नै पार्टीको सरकार र प्रधानमन्त्री अपदस्त गर्ने कार्य स्वीकार्य नहुने बताए।
पार्टी भित्रको आन्तरिक विवादका कारण बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको भन्दै उनले प्रधानमन्त्री ओलिको कदमको बचाउ गरे।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको उनले दावी गरे।
नीति, सिद्वान्त, विधि, पद्वतिका कारण पार्टीमा फुट नआएको उल्लेख गर्दै पद र प्रतिष्ठालाई बढी महत्व दिँदा आन्तरिक विवाद बढेपछि पार्टीमा फुटको अवस्था आएको उनको भनाइ छ।
अब पार्टी एकता हुन्छ भन्ने ग्यारेन्टी नभए पनि असम्भव भने नभएको उनले बताए। रायमाझीले एमसिसी ल्याउने भए पनि सहमतिमा निर्णय गरेर छिटो ल्याउनुपर्ने र खारेज गर्ने भए पनि सहमतिमा छिटो खारेज गर्नुपर्ने बताए।
जलश्रोत मन्त्री रायमाझीले नेपालमा इनर्जी बढी र निर्यात गर्ने ठाउँ नभएकाले अहिले अर्को समस्या उत्पन्न भएको बताए।
आगामी भदौसम्म ५ सय मेघावाट विद्युत बढी हुने दाबी गर्दै मन्त्री रायामाझीले ट्रान्समिसन लाइन नहुँदा समस्या आएको जानकारी दिए।
मन्त्री रायमाझीले २०७२ सालमा आफ्नै पालामा बनाएको मास्टर प्लानका कारण लोडसेडिङ घटेको दाबी गर्दै उनले अहिले कुलमान घिसिङले लोडसेडिङ घटाए भन्न नसकिने दोहोर्याए।
पछिल्लो समय सगरमाथाको विषयमा भारतीय पत्रकारले गरेको टिप्पणी गलत भएको भन्दै गलत कुरामा सरकार सचेत र प्रतिवद्व भएर लागिरहेको मन्त्री रायमाझीले बताए।