चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीले काठमाडौं विश्वविद्यालयमा योग्यता र अनुभवका आधारमा उपकुलपति नियुक्त गर्न माग गरेका छन्।
अहिले उक्त विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको छ।
उपकुलपतिका लागि तीन दर्जनभन्दा बढी आवेदन परेको भन्दै केसीले बिहीबार विज्ञप्ति जारी गरी नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने पनि बताएका छन्।
‘खासगरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरूमा देखिएको चरम अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरू रहेका छन्,’ केसीले भनेका छन्, ‘देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरू उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरूको स्वार्थ र इसारामा पदाधिकारीहरू चल्ने गरेका छन्।’
उनले आफूसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरू समेत कार्यान्वयन हुने गरी, सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति अघि बढाउनुपर्ने बताएका छन्।
काठमाडौं विश्वविद्यालयका उपकुपति डा. रामकण्ठ माकजुको कार्यकाल सकिन लागेको छ। उनी दुई कार्यकाल उपकुलपति भइसकेका छन्।