नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवलाई सरकारले सरूवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो।
गौतम दश महिनादेखि उक्त महाशाखामा थिए। उक्त महाशाखाले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम गर्छ। पछिल्लो समय नेकपाको विवाद पनि महाशाखाले हेरिरहेको थियो।
गौतमको ठाउँमा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ। सरूवापछि गौतम शुक्रबार आयोगबाट बिदा हुँदै छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
पार्टीको नाम र चुनाव चिन्ह आफूले पाउनु पर्ने दुबै पक्षको दाबीमा आयोगले निर्णय गर्न बाँकी छ।
यस्तो बेलामा आयोगको परामर्शबिना महाशाखा प्रमुखलाई सरूवा गर्दा कार्यसम्पादनमा प्रभाव पर्ने एक आयुक्तले बताए।
'संवैधानिक आयोगहरूमा कर्मचारी सरूवा गर्दा कम्तिमा आयोगहरूसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो पहिलादेखि कै कुरा हो। तर त्यसको सुनुवाइ भएको छैन,’ ती आयुक्तले भने,‘अहिले उहाँको सरूवा हुँदा पनि आयोगलाई सरूवा भएपछिमात्र थाहा भयो। यस्तो कुराले आयोगको पर्फमेन्समा असर पर्छ।’