वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेको भन्दै परीक्षाबाट बञ्चित गराएका विद्यार्थी रामजी राम र पंकज रामलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाउन नेविसंघले माग गरेको छ।
एमबिबिएस तहका विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कलेजलाई कारबाही गर्न पनि नेविसंघका अध्यक्ष राजीव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर माग गरेका छन्।
‘परीक्षा दिनबाट बञ्चित गरिएका रामजी राम र पंकज रामलाई तत्काल पुन: परीक्षाको व्यवस्था मिलाउन त्रिवि, चिकित्सा शिक्षा अध्ययन संस्थान, डिनको कार्यालयलाई माग गर्दछौं,’ ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ।
यस्तै, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने नेसनल मेडिकल कलेजलाई र यसका सञ्चालकलाई तत्काल कडा कारबाही गर्न पनि नेविसंघले माग गरेको छ।
विद्यार्थीका समस्या बारेमा समयमै जानकारी गराउँदा पनि शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, चिकित्सा शिक्षा आयोग लगायतले जिम्मेवारी पूरा नगरेकोमा उनीहरूलाई पनि तत्काल कारबाही गर्न नेविसंघले माग गरेको छ।
‘कडा कारबाही गरियोस् अन्यथा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न हामी बाध्य हुनेछौं,’ ढुंगानाले भनेका छन्।
नेविसंघ महामन्त्री दीपक भट्टराईले विद्यार्थीलाई परीक्षा नै दिन रोक्ने नेसनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेका छन्।
उनले शिक्षा मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायले यसबारे छानबिन गरी तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
‘सरकार शैक्षिक माफियासँग निरिह बन्न मिल्दैन। तुरून्तै कारबाही गरिनुपर्छ,’ उनले भने।