नागरिक अगुवाहरूले ‘प्रतिगमन’ विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीबाट विरोध गर्ने भएका छन्।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले आयोजना गरेको ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने भएका हुन्।
मंगलबार राखिएको सभामा नागरिक अगुवा कृष्ण पहाडीसहितका अगुवालाई मुख्य वक्ता राखिएको छ।
डबलीको विरोध कार्यक्रममा नागरिक पहाडीका साथमा बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक वितार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डम. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।
‘हामी सबै तह र तप्कालाई जोड्ने प्रयत्नमा छौं,’ पहाडीले भने।
यस पटक व्यापक सहभागितासहित आन्दोलन गरिने नागरिक आन्दोलनमा सहभागी अगुवाहरूले बताएका छन्।
संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए।
गत हप्ता शनिबार नागरिक अगुवाहरूको सहभागितामा माइतीघर मण्डलाबाट संसद विघटनविरूद्ध आन्दोलन सुरू भएको थियो।
२०६२/६३ को जनआन्दोलनताका पेशागत संघ-संगठन शाही कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनमा निस्केका थिए।
यसपटक प्रधानमन्त्री ओलीले सोही राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिनिधि सभा विघटन गरी ‘प्रतिगमन’तर्फ मुलुकलाई अग्रसर गराएको अगुवाहरूको बुझाइ छ।
वृहत् नागरिक आन्दोलनका संयोजक युग पाठकका अनुसार यसपालिको ‘प्रतिगमन’लाई दुई तरिकाले व्याख्या गरिएको छ। पहिलो, तुरुन्त संसद पुनर्स्थापना र दोस्रो, राजनीतिक सामाजिक अधिकारसम्पन्न राज्यको परिकल्पना।
‘मुलुकमा प्रतिगमनको शृंखला लामो छ, अहिलेको त्यो उत्कर्षमा पुगेको हो,’ पाठकले भने, ‘यो प्रतिगमनबाट समाजलाई स्वस्थ बनाउन राजनीतिक सामाजिक न्याय सहितको राज्य नै हो।’
मंगलबारको आन्दोलनलाई ‘पहिलो ठूलो सभा’ हुने भनिएको छ। र, यो सभामा २०६२/६३ पछि परिवर्तित मुलुकको संरचनाकै स्वरूपमा सहभागिता गराइने छ।
‘यो नागरिक आन्दोलन समावेशी चरित्रको छ, विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक समावेशी चरित्रको हो र हामी यो आन्दोलनलाई त्यसरी नै समेट्दै लैजाने छौं,’ पाठकले भने, ‘२०६२/६३ को आन्दोलनमा जस्तै पेशाकर्मीहरू पनि सहभागी हुनेछन्, बार एसोसिएसन र पत्रकार महासंघ सहभागी भइसकेका छन्।’
नागरिक अगुवा श्याम श्रेष्ठका अनुसार नेपालमा जब दलहरूले बाटो बिराउँछन्, देशलाई उज्यालोतिर हैन अँध्यारोतर्फ लैजान्छन्, त्यसबेला नागरिक आन्दोलन हुने गरेको छ।
‘सही बाटो यो हो भन्नका लागि र नागरिक खबरदारीका लागि यस प्रकारका आन्दोलन नेपालमा भइरहेका छन्, २०४६ र २०६२/६३ सालमा पनि भएका थिए,’ श्रेष्ठले भने, ‘यो देश, लोकतन्त्र र समाजवादलाई माया गर्ने विशुद्ध नागरिकले सञ्चालन गरेको आन्दोलन हो।’
श्रेष्ठका अनुसार हिजो २०६२/६३ मा दलको विकल्प राजतन्त्र हैन भनेर नागरिक अगुवाले खबरदारी गरेका थिए। अहिले दलहरू अलोकप्रिय भएका छन्, उनीहरूले छँदाखाँदाको दुई तिहाइ संसदलाई विघटनमा लगेका छन्।
‘यो प्रधानमन्त्री ओलीका कारण मात्र भएको हैन, ओली जंगबहादुर बन्नुमा बाँकी अरू पनि छन्, उनीहरूले बेलैमा किन सच्याउन सकेनन् भन्ने पनि हो,’ उनले भने ‘त्यसैले सबैलाई खबरदारी गर्न आन्दोलन गर्नुपरेको छ।’
श्रेष्ठका अनुसार संसद विघटनसँगै अहिले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता चारै कुरा जोखिममा परेका छन्। भोलि अदालतले पनि ‘गलत फैसला’ गर्ने हो भने संविधानले बाटो छोड्न सक्छ र मुलुक अराजकतातिर जान सक्छ।
मंगलबारको कार्यक्रमको संयोजन नागरिक आन्दोलनले गरे पनि नेतृत्व नयाँ पुस्तालाई दिइएको उनले बताए।
‘राजनीतिक दलहरूलाई पनि शिक्षा होस् भनेर हामीले नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याएका छौं, हामी पनि हुन्छौं, झन् नयाँ पुस्तालाई दिँदै जाने हाम्रो योजना छ,’ उनले भने।
नागरिक आन्दोलनमा नागरिक अगुवा, लेखक, सञ्चारकर्मी, नागरिक अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायत छन्।