नेकपा ओली समूहले प्रचण्ड र माधव नेपाल समूहले ‘नेपालका सञ्चारमाध्यमलाई सरकार र केपी ओलीविरूद्ध नियोजित रूपमा परिचालन गरेको’ आरोप लगाएको छ।
ओली समूह निकट मोरङ बुद्धिजिवी परिषदले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पेश गरिएको अवधारणा पत्रमा यस्तो आरोप लगाइएको हो। ‘सरकार बन्नेवित्तिकैदेखि निरन्तर प्रहार सुरू भयो’, डा . तारानाथ निरौला, डा. अर्जुनकुमार बराल र यज्ञप्रसाद शर्माले लेखेको अवधारणा पत्रमा भनिएको छ, ‘यसमा कतिपय सञ्चारमाध्यम नियोजित रूपमा परिचालन गरियो।’
यी मध्येका यज्ञ शर्मा प्रदेश १ सरकारले भर्खरै नियुक्त गरेका प्रादेशिक सञ्चार प्रतिष्ठानका प्रमुख हुन्।
अवधारणा पत्रमा प्रचण्ड र नेपाल पक्षको व्यक्तिगत स्वार्थले पार्टी विभाजनको अवस्था आएको उल्लेख छ। कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री भानुभक्त ढकाल, मुख्यमन्त्री शेरधन राईलगायतका नेता सहभागी छन्।