प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो भूमि सुरक्षित राखेर भारतसँगको सम्बन्ध सुधार गर्ने बताएका छन् ।
उनले शुक्रबार धनगढीमा आयोजित आमसभामा बोल्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भएको स्पष्ट पारे।
‘सुगौली सन्धीपछि पनि हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भोगचलन गरेका हौं। ५८ वर्षदेखिे प्रयोग गर्न पाएका छैनौं। त्यसलाई संविधानमा समेटेका छौं,’ उनले भने।
उक्त भूमि सामेल गरेर नक्सा प्रकाशन गरिएको उनले बताए।
‘उक्त भूमि समावेश गरी नक्सा छापियो अनि यही प्रदेशका केहीलाई टाउको दुख्यो र अहिलेको यो असहज स्थिति सिर्जना भयो,’ उनले भने।
यस्तै, ओलीले बिहीबार राष्ट्रपतिसमक्ष गत आर्थिक वर्षको वार्षिक वृद्धिदर र अवस्थाको बारेमा प्रतिवेदन पेश गरेको बताएका छन्। उक्त प्रतिवेदनमा सरकारले पछिल्लो एक वर्षमा ९८९ किलोमिटर कालोपत्रे गरेको उल्लेख भएको जानकारी दिए।
‘त्यसको लम्बाई अझै बढी हुने थियो कोरोनाले रोक्यो,’ उनले भने।
ओलीले आफू यसपटक प्रधानमन्त्री भएपछि अहिलेसम्म ४ हजार ५ सय बढी किलोमिटर बाटो बनाएको दाबी गरे।
प्रदेश सरकार प्रभावकारी भए विकासले गति लिन सक्ने उनले बताए।
केन्द्र सरकारबाट प्रदेशलाई बजेटको कमी हुन नदिने उनको भनाइ छ।