प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा सुदूरपश्चिम प्रदेशको बैंक खाताबाट रकम निकालेको भनेर आफूलाई लगाइएको आरोप हाँस्यास्पद रहेको बताएका छन्।
शुक्रबार सेतोपाटीसँग कुरा गर्दै रावलले एउटा बैंकको रकम अर्को बैंकमा राख्न पाउने स्वभाविक प्रक्रियामा आफूलाई जोड्नु काल्पनिक र गलत रहेकोसमेत बताए।
'यो त हाँस्यास्पद कुरा हो। पार्टीको खाता हाम्रो प्रदेश सचिव र कार्यालय सचिवको नाममा सञ्चालन हुन्छ। उहाँहरूले हस्ताक्षर गरेर एउटा बैंकको खाताबाट अर्को खातामा रकम सार्नुभएको छ,' रावलले भने, 'मलाई हिनामिना गरेको भन्नुभएको छ नि त्यो हाँस्यास्पद हो। न मेरो बैंकमा खाता होस् न केही होस्, त्यसै आरोप लगाइएको छ। नेकपाको खाताको रकम एउटाबाट अर्कोमा सार्ने काम स्वभाविक हो। उहाँहरूले त्यहीँ गर्नुभएको हो।’
अश्लील गालीगलौजमा उत्रिएको समूहले यस्ता आरोप लगाउनु ठूलो कुरा नभएको समेत उनले बताए।
नेकपा सुदूरपश्चिम प्रदेशको इन्चार्जरहेका रावललाई ओली पक्षले हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ।
यस्तै प्रदेश अध्यक्ष कर्णबहादुर थापालाई तोकेको छ। थापाकै अध्यक्षतामा पुस २२ गते बसेको बैठकले रावललाई आर्थिक हिनामिनाको आरोपमा कारबाहीका लागि सिफारिससमेत गरेको छ।
आफूहरूले केपी ओलीलाई कारबाही गरेको भन्दै यस्ता विषय सामान्य रहेको रावलले प्रतिक्रिया दिए।