राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले अहिलेको अवस्थामा ताजा जनादेशमा जानुनै उपयुक्त विकल्प रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भए पनि संसद पुनर्स्थापना भईहालेमा सत्ताका लागि फोहोरी खेल शुरू हुने भन्दै उनले ताजा जनादेशमा जानु नै उत्तम विकल्प हुने बताएका हुन्।
लुम्बिनी प्रेस क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता बोहराले प्रधानमन्त्रीले असंवैधानिक काम गरे पनि अदालतको निर्णय आफूहरूलाई स्वीकारयोग्य हुने बताए।
संविधानमै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले गैरसंवैधानिक काम गरेको बोहराको आरोप छ। बोहराले संसद पुनःस्थापना भए पनि र विघटन भए पनि मुलुक भने अस्थिरतातर्फ धकेलिएको बताए। उनले अहिलेको अवस्थामा संसद पुनःस्थापना समस्याको समाधान नभएको जिकिर गरे।
प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक कलहका कारण मुलुकमा अस्थिरता निम्त्याएको उनको भनाई छ। नेता बोहराले जनमत संग्रह गर्ने हो भने हिन्दू राज्य र राजाको पक्षमा प्रष्ट बहुमत आउने दाबीसमेत गरे ।
मुलुकमा अब लोकतान्त्रिक राजाको व्यवस्था गर्नुपर्ने उनको भनाई छ। हिजो गणतन्त्रको विरुद्धमा नारा नलागेको र अहिले त्यसविरुद्ध जनमत बढिरहेको बताउँदै बोहराले सबैको माग लोकतान्त्रिक राजा र सनातन हिन्दू धर्म नै भएको जिकिर गरे।