उपप्रधान मन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले पदलोलुप्ताका कारण पार्टीभित्र भाँडभैलो मच्चाएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले मंगलबार जनकपुरधाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा नेकपाको सचिवालय सदस्य समेत रहेका मन्त्री पोखरेलले औपचारिक रूपले नेकपा नफुटे पनि प्रचण्ड–नेपाल समूहको गतिविधिले फुटको संघारमा पुगेको बताए।
‘प्रचण्ड–नेपाल समूहले हामीलाई दिएको धक्काबाट पाठ सिकेर अब नयाँ ढंगले निर्वाचनमा गई जनलहर सिर्जना गर्नेछौं। जनता पनि विभाजनको पक्षमा कहिल्यै जाँदैनन्,’ उनले भने,‘प्रचण्डमा प्रधानमन्त्री पदको लोभ छ भने, माधव नेपालमा पार्टी अध्यक्ष पदको लोभ छ।’
उनले एकताको तीन वर्ष दिन नबित्दै पार्टीलाई कमजोर बनाउनका लागि पार्टी भित्रबाटै खेल सुरू गरिएकाले पार्टीलाई कमजोर बनाउनेहरूलाई कदापि सहन नसकिने जिकिर गरे।
प्रचण्डले एमालेसँग पार्टी एकता गरी चुनाव लडे पनि सरकार बनाउने समयमा अन्य पार्टीसँग गठबन्धन गरेको विगत कोट्याउँदै मन्त्री पोखरेलले त्यस समयमा पनि प्रचण्डले पार्टीलाई धोका दिएको आरोप लगाए।
संसद विघटनको सम्बन्धमा नेता पोखरेलले भने,‘सरकार कुनै निर्णय गर्न चाहिरहेको बेलामा पछाडिबाट धक्का हानेर प्रचण्ड समूहले सरकारलाई काम गर्न नदिएपछि बाध्यतावस प्रधानमन्त्री ओलीले संसद विघटन गरे, सरकारले निर्णय गर्ने समयमा प्रचण्डले विभिन्न झमेला गरिरहेका हुन्थे, प्रधानमन्त्री कार्यालय लगायत मन्त्रीहरूको कार्यालयमा आफ्नो मान्छेलाई नियुक्त गर्न पटक पटक दबाव दिन्थे, अनि सरकार कसरी चल्नु त ?’
पार्टी भित्रको झमेलालाई सहन नसकेर प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि जनतामाझ जान संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको उनले दाबी गरे।
केपी ओलीसँग पराजित भएका माधव नेपाल फेरि ओलीसँग प्रतिस्पर्धा गर्न खोज्नु हाँस्यास्पद रहेको मन्त्री पोखरेलले बताए।