शहरी विकास मन्त्री प्रभु साहले आफूसँग पुष्पकमल दाहाल प्रचण्डले चिटिङ गरेको आरोप लगाएका छन्।
सोमबार सिरहाको गोलबजारमा जिल्लास्तरीय नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाको प्रदेश २ अध्यक्षसमेत रहेका साहले यस्तो आरोप लगाएका हुन्।
प्रचण्डले चिटिङ गरेर नै प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गराएको आरोप साहले लगाए।
‘सुन्नु भएको होला तपाईहरू प्रधानमन्त्रीजीको विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मेरो पनि हस्ताक्षर छ। म सोध्न चाहन्छु प्रचण्डजीसँग तपाईँ प्रभु साहसँग कुन महिनामा र के भनेर सही गराउनु भएको थियो? प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्तावको लागि कहिले संसदीय दलको बैठक बोलाउनुभएको थियो?,’ उनले प्रश्न गरे।
प्रचण्डले चिटिङ गरेर आफ्नो हस्ताक्षर लिएको मन्त्री साहको आरोप छ। असार महिनामा भएको कुनै बैठकमा छलपूर्वक आफ्नो हस्ताक्षर लिएको उनले बताए।
प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बेचेकोसमेत आरोप लगाए। उनले भने, ‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश दिने भनेका थिए तर के गरे? युद्वकालमा भनेका थिए मेची देखि महाकालीसम्म मधेश दिन्छु। तर के गरे? तपाईँहरूलाई झुट बोल्ने नेता चाहियो वा साँचो बोल्ने?’
पदको लालसामा कम्युनिष्ट आन्दोलनसमेत बेचेकोले प्रचण्डको अगाडि पछाडि बस्ने कोही नरहेको भन्दै मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, बादल सबै उनको साथ छोडेको बताए।
कम्युष्ट आन्दोलन विफल गर्ने षडयन्त्र भइरहेको साहको अरोप थियो। ‘बाहिरबाट हेर्दा कम्युनिष्ट पार्टीको आन्तरिक विवादको कारण देश दुर्घटनातर्फ उन्मुख छ। अलग्गैबाट हेर्दा झगडा जस्तो लागिरहेको छ। तर झगडा भित्र हेर्दा दोष र निर्दोष देखिन्छ’, साहले भने, ‘टाढाबाट हेर्दा दुई जना झगडा गरिरहेको देखिन्छ। नजिकबाट हेर्दा एउटा साईकल छिन्न लडिरहेका छन् भने अर्को त्यसलाई बँचाउनको लागि। यसमा एउटा इमान्दार छन् भने अर्को वेइमान।’
नेपालमा संविधान बनेपछि देश स्थायित्वतर्फ बढीरहेको समय अस्तव्यस्त बनाउनेतर्फ केही लागेको आरोप लगाए। अहिले शंकटपूर्ण अवस्थामा रहेकोले एउटा बाटो सही रहेको र अर्को झुट बोलेर जनतामा भ्रम छर्ने र निहित स्वार्थको लागि सत्ता प्राप्त गर्ने। अहिले सबैलाई सत्यको बाटोमा हिँड्न उनले आग्रह गरे।