प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन्।
नयाँ वर्ष सन् २०२१ को अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गरेका छन्।
‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौं। समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तर, अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक ब्यवधानहरुको सामना गर्नुपर्यो।’
उनले आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि बताएका छन्।
‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं। राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धि थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
‘राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ। आगामी वर्ष र दिनहरुमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ,’ प्रधानमन्त्रीले भनेका छन्।
सन् २०२० मा कोरोना महामारीले मुलुकले क्षति व्यहोर्नु परेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।