राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना जोखिमलाई हेरेर राष्ट्रिय सभा बैठक सञ्चालनको व्यवस्थापन मिलाइएको बताएका छन्।
व्यवस्थापकीय तयारी पूरा भएको बताएका उनले सदस्यहरूको पिसिआर परीक्षण पनि गरिएको बताए।
शुक्रबारदेखि राष्ट्रिय सभा बैठक सुरू हुन्छ। पहिले नै टेबुल भएका विधेयकहरूबारे छलफल गर्ने तयारी छ।
विशेष र शुन्य समय मात्रै राखेर संसद चल्न नसक्ने उनको भनाइ छ। सरकारले केही न केही विजनेश दिनुपर्ने उनको भनाइ छ।
छ महिना अन्तरालमा संसद बस्नुपर्ने संवैधानिक व्यवस्था भएकोले मात्रै बैठक राख्न लागेको उनले बताए।
‘केही समय चल्छ। प्रतिनिधि सभा अहिले छैन। जेजति दिन चल्छ त्यहाँ विशेष र शुन्य समय राखेर माननियहरूले बोल्न त पाइहाल्नु हुन्छ,’ उनले भने।
सर्वोच्चमा विचाराधीन रहेको विषयमा भने सांसदहरूले बोल्न नमिल्ने पनि उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। यसबारे राष्ट्रिय सभामा प्रश्न उठाउन नपाइने उनले बताए।
कोही सांसदले बोले आफूले रूलिङ गर्ने पनि उनको भनाइ छ।
उनले सरकार बहुमतमा रहेको र सरकार पक्ष बहुमतमा रहेको पनि बताएका छन्।
‘सरकार बहुमतमा छ। सरकार पक्ष बहुमतमा छ। जुन सडक र बाहिरको चर्चा जे भन्नु भएको छ। दुबै सदनबाट पास नभई विधेयक कानुनको रूप लिँदैन,’ उनले भने, ‘एउटा सदनले मात्रै पुग्दैन। ६० दिनमा स्वत निस्कृय हुन्छ।’
भिडिओ: