नेकपा लमजुङ अध्यक्ष मधु अधिकारी सोमबार बिहान साढे ११ बजेतिर पार्टी कार्यालय गइन्।
तत्कालीन एमाले र माओवादी एकिकरण भएपछि एमाले कार्यालयलाई नेकपाको पार्टी कार्यालय बनाइएको थियो। एमाले–माओवादी भागबण्डा अनुसार लमजुङमा पूर्वमाओवादीकी अधिकारी जिल्ला अध्यक्षमा चयन भएकी थिइन्।
पार्टी कार्यालय पुगेर कार्यकक्षमा झोला राखिन्। मोबाइल चार्जमा राखेर घाम ताप्न बाहिर निस्किइन्। कार्यालयमा केही युवा बसिरहेका थिए। उनीहरू साढे १ बजेतिर कार्यालयबाट बाहिर निस्किए। अधिकारीले भनिन्, ‘सायद, चाबी किन्न गएका थिए।’
त्यतिबेला अधिकारी घलेगाउँका गंगाबहादुर घलेसँग घाम ताप्दै कार्यालय परिसरमा गफ गरिरहेकी थिइन्। बाहिरिएका युवा फेरि पार्टी कार्यालय फर्किए। ‘सायद उनीहरूले चाबी किनेर ल्याए,’ उनले भनिन्।
ती युवाले पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्षमा चाबी लगाए। अधिकारीको मोबाइल र झोला भित्रै थुनियो। उनले झोला झिक्न जान्छु भनिन्।
कार्यालयभित्र अधिकारी आफ्नो कार्यकक्षमा बसिन्। ती युवारूरुले बाहिर निस्कन भने। ‘यो नेकपाको कार्यालय हो, म नेकपाको अध्यक्ष हुँ,’ अधिकारीले भनिन्, ‘म किन बाहिर निस्कने?’
पार्टी कार्यालयमा दिउँसो भएको घटनाको बेलिविस्तार लगाउँदै अध्यक्ष अधिकारीले सेतोपाटीलाई भनिन्, ‘त्यसपछि मलाई उनीहरूले मलाई लछार–पछार गर्दै हातमा समातेर ताने।’
अधिकारीलाई युवाको समूहले बाहिर निकाले र चाबी लगाए। समूहले अध्यक्ष अधिकारीमाथि गाली गलौज गर्न थाले। ‘यहाँ तेरो बस्ने अधिकार छैन, तँ जंगलबाट यहाँ बस्न आएकी भने,’ अधिकारीले भनिन्, ‘तलाई काट्छु मार्छु, तँ कति मान्छे मारेर आएको तलाई पनि मार्छु भने।’
उनले ती युवाहरूको प्रतिवाद गर्न खोजिन्। ‘ल काट, तिमीहरू जति जना छौ मलाई त्यति टुक्रा बनाउ’ भनिन्। ‘उनीहरूले तथानाम गाली गरे, जे मन लाग्छ त्यही बोले,’ अधिकारीले भनिन्, ‘त्यसपछि म बोलिनँ, हेरिरहें।’
कार्यकक्षमा ताला लगाएपछि अधिकारी कार्यालयको छतमा गइन्। दाँत कोट्याइन्। त्यो देखेर युवाको त्यो समूहले फेरि उडाउन थाले। ‘जंगलमा बसेर आएको स्याल खाएछस् मासु त कहाँ खान पाउँछेस् र भनेर मलाई उनीहरूले भने,’ अधिकारीले भनिन्, ‘स्यालको मासु खाएर कोट्याएको भनेर घिनलाग्दो उग्र शब्द बोले अनि गलल हाँसे।’
युवाहरूको समूहले अति गरेको भन्दै अधिकारीले लमजुङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरिन्। पार्टी कार्यालयमा प्रहरी आए। प्रहरीकै अगाडि अधिकारीलाई काट्छु र मार्छु भनेर उनीहरूले भनिरहे।
‘मेरो हात समाउने बेला प्रहरीले छुट्याउन खोजे, अरु त सब हेरेरै बसे,’ अधिकारीले भनिन्, ‘प्रहरी भनेको त सत्ताको पुजारी न हुन्।’ पार्टी कार्यालयमै आफूमाथि एकदमै निम्नस्तरको व्यवहार भएको र छाडा शब्द बोलेको उनले बताइन्।
युवाहरूको त्यो समूहले पार्टीका जिल्ला सचिव धनञ्जय दवाडीको कार्यकक्षमा समेत ताला लगाएका छन्। दवाडी भने पूर्व एमालेका जिल्ला अध्यक्ष हुन्। दवाडी नेकपा लमजुङमा ओली पक्षको नेता हुन्। एमाले र माओवादी भागबण्डा हुँदा माओवादी पक्षले अध्यक्ष र एमाले पक्षले सचिव पाएका थिए।
पार्टी कार्यालयभित्र अध्यक्षमाथि दुर्व्यवहार हुनुअघि बेसिसहरमा प्रचण्ड–नेपाल पक्षले प्रदर्शन गरेका थिए। उनीहरूले केपी ओली मुर्दावादका नारा लगाएका थिए। उक्त घटनापछि युवाहरूको समूहले केपी ओली जिन्दावाद भन्दै नारा लगाएर बाहिरिएको अध्यक्ष अधिकारीले बताइन्।
युवाहरूको त्यो समूहमा राष्ट्रिय युवा संघ लमजुङका संयोजक ऋषि बस्नेत, बेसिसहर नगरपालिकाका जनप्रतिनिधि गोविन्द बस्नेतलगायत थिए।
यता नेकपा लमजुङका सचिव दवाडीले भने पार्टी कार्यालयमा त्यस्तो घटना नभएको बताए। ‘पार्टी कार्यालय बन्द गर्न लागेका हुन्, अरु केही भएको होइन,’ दवाडीले भने, ‘त्यस्तो घटना भएको मेरो जानकारीमा छैन।’
‘पार्टी कार्यालय त एमालेको हो नि, माओवादीको होइन,’ उनले भने, ‘राजनीतिमा विवाद भएपछि क्रियाको प्रतिक्रिया हुन्छ, यो सामान्य कुरा हो।’
नेकपा लमजुङका अध्यक्ष अधिकारी र सचिव दवाडी दुबै जना प्रदेशसभा सदस्यसमेत हुन्।