नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिष्ट पार्टी, मार्क्सवाद र लेनिनवादसँगै एलर्जी भएजस्तो देखिएको बताएका छन्।
सोमबार दिउँसो संसद भवन बानेश्वरमा बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू पक्षीय सांसदहरूको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीका पछिल्ला गतिविधिले उनमा कम्युनिष्ट पार्टीप्रति एलर्जी भएको जस्तो देखिएको बताएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानविपरीत भएकाले त्यो स्वेच्छाचारी कदमलाई आफूहरूले नमान्ने उनले बताए।
‘क्याबिनेटको सिफारिसमा राष्ट्रपतिबाट जे गरियो त्यो गलत छ। यो नेकपाका सांसदहरूको मात्र होइन अरूको पनि भावना पनि विपरीत छ,’ नेपालले भने,‘हामी प्रतिनिधि सभा विघटन मान्न तयार छैनौं। किनकी ९० जना सांसदले सभामुख र महासचिवलाई हस्ताक्षर बुझाउनु भएको छ। तीन जनाको नाम त छुटेको छ।’
उनले अत्याधिक सदस्य संसद विघटनको विपक्षमा रहेको बताए।
'देशभरि त्यसको विरोध भइरहेको छ, हाम्रै पार्टीका नेता कार्यकर्ता विरोधमा छन्,’ नेपालले भने,‘ नेपाली कांग्रेस र समाजवादी दलसँग छलफल गरेर सँगै जाऔं भन्ने छ।’
बरिष्ठ नेता नेपालले ओलीमा एकाधिकारवादी चिन्तन, मैले जे गर्छु ठीक गर्छु भन्ने सोच, गल्ती आलोचना नस्वीकार्ने स्वभाव, बैठक गर्न नचाहने, अर्का अध्यक्षको अधिकार खोस्ने, अध्यक्ष र पार्टीका कमिटीको मानमर्दन गर्ने, बहुमतको निर्णय स्वीकार्न तयार नहुने, पार्टीको विधान मान्नु नपर्ने सोच रहेको बताए।
‘उहाँ एकता प्रक्रिया भंग गर्ने पक्षमा देखिनु भयो। संसद विघटन हुन्न हुन्न होला जस्तो भन्ने लागेको थियो। उहाँले गरिदिनुभयो,’ नेपालले भने।
उनले यो आन्दोलन र पार्टी कुनै एउटा व्यक्तिका लागि नसकिने उल्लेख गर्दै भ्रममा परेकाहरूलाई पनि आफूहरूले सम्झाउनु पर्ने बताए।
बैठकलाई सम्बोधन गर्दै अर्का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको निर्णयलाई अस्वीकार गर्नुपर्ने र यसका लागि जनतालाई एकतावद्ध गर्नुपर्ने बताए।
'संविधान कुल्चेर जुन कदम चाल्नुभयो त्यो जनविरोधी छ। हामी सर्वोच्च अदालत जान्छौं। आज भेला भएको छ। आफ्नो निर्वाचन क्षेत्रमा गएर यसको विरोध गर्न तपाईंहरू आह्वान गर्नुस्,’ उनले भने।
उनले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत भएकाले सबै मोर्चामा ओलीको असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए।