प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफललाई तीव्रता दिएका छन्।
प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।
आफूनिकट नेताहरूसँग छलफलपछि प्रचण्ड खुमलटारबाट बाहिरिएका छन्। उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जानकारी दियो।
प्रधानमन्त्री केपी शर्मा ओली पनि केही बेर अघि शितलनिवासमा राष्ट्रपतिसमक्ष सिफारिस पेश गरी बालुवाटार फर्किएका छन्।
आज दिउँसो १ बजे बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ। सोही बैठकका लागि प्रचण्ड बालुवाटार गएको बताइएको छ। यसअघि आइतबार बिहान पनि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए।