सत्तारुढ दल नेकपाभित्रको विवाद बहुमतबाट छिनोफानो हुनेतर्फ अघि बढेको छ।
गत आइतबार स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूले सहमतिका लागि पहल गर्न १० दिनको समय मागेका थिए। सात दिनको समय दिएर स्थायी समिति बैठक स्थगित भएको थियो।
आइतबार फेरि स्थायी कमिटी बैठक बस्दैछ। पछिल्ला पाँच दिनमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक पटक मात्रै भेटघाट भएको छ। दोस्रो तहका नेताहरुबिच पनि विवाद मिलाउनेतर्फ खासै छलफल हुन सकेको छैन।
सकेसम्म स्थायी कमिटी बैठकबाट दुबै अध्यक्षका दस्तावेजलाई मिलाएर साझा प्रस्ताव बनाउने प्रधानमन्त्री ओली पक्षधरको योजना छ।
अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भने प्रधानमन्त्री ओली कम्तीमा एक पद छाड्न तयार नभएमा केन्द्रीय कमिटीबाटै छिनोफानो गर्ने तयारी गरिरहेका छन्।
स्थायी कमिटीमा पेश भएका पत्र र राजनीतिक प्रस्तावहरू केन्द्रीय कमिटी बैठकमा जाने प्रचण्ड-नेपाल खेमाका एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।
‘पहिला वैचारिक-राजनितीक हिसाबले टुंगो लगाउनुपर्छ। त्यसपछि सके सर्वसम्मत नसके विधि अन्तर्गत लैजानुपर्छ। सबै प्रस्तावहरू केन्द्रीय कमिटीमा जान्छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘निर्णायक भनेको केन्द्रीय कमिटी हो। स्थायी कमिटीमा जे कुरा उठ्छन्, ती सबै केन्द्रीय कमिटीमा जान्छन्। त्यसपछि जे गर्छ केन्द्रीय कमिटीले गर्छ।’
तर, प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले भने स्थायी कमिटी बैठकबाटै प्रचण्डको प्रस्तावको टुंगो लाग्ने दाबी गरे।
‘प्रचण्डको प्रस्ताव स्थायी कमिटीबाटै अस्वीकृत हुन्छ। प्रधानमन्त्रीले त त्यो प्रस्तावको जवाफ मात्रै लेख्नुभएको हो। प्रस्ताव अस्वीकृत भएपछि जवाफको के अर्थ हुन्छ र,’ ती स्थायी कमिटी सदस्यले भने, ‘सहमतिका लागि विभिन्न प्रयास भए पनि अझै सकारात्मक परिणाम आउने संकेत देखिएको छैन। तर, पार्टी फुट्दैन भन्नेमा भने हामी ढुक्क भएका छौ।’
प्रचण्डको प्रस्ताव अस्वीकृत नभए कम्तीमा सहमतिको साझा प्रस्ताव बनाउने ओली पक्षको चाहना छ।
सबै पत्र र प्रस्तावहरू केन्द्रीय कमिटीमा गएमा पार्टी विभाजनको दिशामा जाने अर्का स्थायी कमिटी सदस्यको चेतावनी छ।
स्थायी कमिटीमा हुने बहसका आधारमा मात्रै त्यसपछिको रणनीति तय हुने प्रचण्ड-नेपाल खेमाका अर्का स्थायी कमिटी सदस्यको भनाइ छ।
‘अहिले नै केही भन्न सकिँदैन। यो त घण्टामै तलमाथि भइहाल्छ। पहिला स्थायी कमिटीमा छलफल हुन्छ। त्यसपछि केन्द्रीय कमिटीमा छलफल हुन्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘आजको मितिमा प्रचण्डले यही हुन्छ भनेर पनि हुने स्थिति छैन, केपी ओलीले भनेर पनि हुने स्थिति छैन। किनकि, उहाँहरूले भनेर हुने भए अहिलेसम्म भइसक्थ्यो।’
प्रधानमन्त्रीले एक पद छोड्नुपर्ने माग रहे पनि छलफल हुँदै गर्दा तलमाथि हुनसक्ने उनको भनाइ छ। भदौ २६ मा भएकै जस्तो सहमति गरेर निकास ननिस्किने उनले बताए।
‘पहिलेभन्दा अन्तरविरोध अझै गहिरिएको छ। अहिले बाहिर कम आएको हो। त्यो बेला बाहिर बढी आएको थियो,’ ती स्थायी कमिटी सदस्यले भने, ‘स्थायी कमिटी बैठकबाट मात्रै हुँदैन। केन्द्रीय कमिटी बस्छ। अझै १० दिन नभई सिन क्लिएर हुँदैन।’
प्रचण्ड-नेपाल गठबन्धन तोड्ने ओलीको प्रयत्न जारी
प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल गठबन्धन तोड्नसमेत प्रयास गरिरहेका छन्। त्यसका लागि प्रधानमन्त्रीले प्रचण्ड र नेपाल दुबैलाई आफूसँग मिल्न र आफूपछिको नेतृत्वका लागि तयार हुन समेत भनेका छन्। ओलीले बरिष्ठ नेता नेपाललाई भेट्न आफूनिकट नेताहरू खटाएका छन् भने प्रचण्डसँग आफैंले छलफल गरिरहेका छन्। आफूनिकट नेताहरूलाई पनि छलफल गर्न लगाइरहेका छन्।
‘प्रधानमन्त्रीले दुबैतिर यस्तो दिन्छु र उस्तो दिन्छु भनेर गठबन्धन टुटाउने प्रयास गर्नुभएको छ। तर, उहाँ यसपटक सफल हुन असम्भवजस्तै छ,’ वरिष्ठ नेता नेपालनिकट एक नेताले भने, ‘अब प्रचण्ड राजनीतिक रुपमा पनि ओलीसँग नजिकिन कठिन छ। हाम्रो तर्फबाट प्रचण्डलाई धोका हुँदैन। अब विधि र प्रक्रियाबाटै सबै टुंगो लगाउनुपर्छ।’
प्रचण्ड-नेपाल पक्षले सामूहिक रुपमा कार्यकर्ता भेला गर्न थालेका छन् भने ओली पक्षले पनि त्यस्तै भेला गरेको छ। केही दिनअघि मात्रै काठमाडौंमा प्रचण्ड नेपाल पक्षधर विद्यार्थीहरूको भेला भएको थियो। प्रचण्ड-नेपाल पक्षले बिहीबार पनि बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गरेका थिए।
‘अहिले विवाद तलैसम्म गइसकेको छ। प्रधानमन्त्रीले जति फुटाउन खोजे पनि अब सफल हुनुहुन्न। यदि स्थायी कमिटीबाट एक पद छोड्न उहाँ तयार हुनुभयो भने सहमतिको प्रस्ताव बन्न सक्छ,’ प्रचण्ड-नेपाल पक्षका एक नेताले भने, ‘केन्द्रीय कमिटीमा गइसकेपछि त उहाँको दुबै पद नरहन सक्छ। अहिले छलफलको सुरुवात हुन नसक्नुको मुख्य कारण पनि उहाँले एक पद छोड्न तयार नभकै कारणले हो।’