झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी अज्ञात समूहले बिहीबार जलाउने प्रयास गरेको छ।
उपप्रमुख उप्रेती गाडीभित्रै रहेको बेला आगजनीको प्रयास भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए।
गाडी जलाउन खोज्ने दुई युवाले आफूहरू नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिए।
चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर कार्यालयतर्फ फर्किरहेको बेला दिउँसो करिब ३ बजे पूर्व-पश्चिम राजमार्गको धाइजन र चारआली सडक खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको थियो।
पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई गाडी हुइँक्याउन लगाएकी थिइन्। गाडी हुइँक्याउँन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेर्स्याएर गाडीको बाटो छेकेको उपप्रमुख उप्रेतीले बताइन्।
‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचेँ’, उनले भनिन्। घटनाबारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले जानकारी दिइन्।