सचिवालय बैठकमा पेस भएका राजनीतिक प्रस्तावमाथि छलफल गर्ने-नगर्ने विषयलाई लिएर नेकपा विवाद पेचिलो बन्दै गएको छ।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रस्ताव पेस गरेका थिए। मंसिर १३ को बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव अराजनीतिक र आधारहिन रहेको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने अडान लिएका छन्।
१६ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुननसक्ने अडान लिएका थिए।प्रधानमन्त्रीकै अडानका कारण बैठक विषयवस्तुमा प्रवेश नगरी सकिएको थियो। दुई अध्यक्षले एकले अर्कालाई आरोप मात्रै लगाएका थिए।
बुधबार बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएनन्। मंगलबार नै प्रधानमन्त्री ओलीले आफू बैठकमा उपस्थित नहुने चेतावनी दिएका थिए।
ओली नआएकै कारण मंसिर २० गतेसम्मका लागि सचिवालय बैठक स्थगित भएको छ। २० गतेसम्म अनौपचारिक छलफल गरेर बैठक राख्नुपर्ने भन्दै महासचिव विष्णु पौडेलले समन्वय गरेका थिए। स्रोतका अनुसार महासचिव पौडेलले दुवै प्रस्ताव फिर्ता लिएर सामूहिक प्रस्ताव ल्याउने प्रयास गरिरहेका छन्।
महासचिव पौडेलकै आग्रहमा प्रचण्डले बैठक सारेका थिए। तर वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री नआए पनि छलफल सुरू गर्ने बताएका थिए।
'सुरुमा त तीन नेताको असन्तुष्टि थियो। तर प्रचण्डले जसका बारेमा छलफल गर्ने हो, उही व्यक्ति नभएपछि कसरी छलफल गर्ने भन्नुभयो,' एक सचिवालय सदस्यले भने, 'मंसिर २० गते पनि प्रधानमन्त्री बैठकमा नआए चाहिँ बैठक बस्छ र राजनीतिक प्रस्तावबारे पनि छलफल हुन्छ।'
प्रधानमन्त्री ओलीलाई सधैं छुट दिन नसकिने अर्का सचिवालय सदस्यले सेतोपाटीलाई बताए।
'प्रधानमन्त्रीको ३८ पेज र प्रचण्डको १९ पेजको प्रतिवेदन छ। तीन-तीन वटा पत्र छन्। यी सबै पत्र र दस्तावेजमा प्रधानमन्त्री जोडिनुभएको छ,' ती सचिवालय सदस्यले भने, 'सोचेर, विचार गरेर बैठकमा आउन समय दिइएको हो। उहाँको उपस्थिति अनिवार्य जस्तै छ। अब चाहिँ उहाँ आउँदै आउनुभएन भने बैठक रोकिँदैन। सधैं उहाँलाई कुर्न सकिँदैन।'
प्रधानमन्त्री ओलीले भने आफूनिकट नेताहरूसँग अहिलेको अवस्थामा बैठक गर्न नसकिने बताएका छन्।
'प्रचण्ड-नेपाल पक्षको योजना पार्टीमा बिग्रह ल्याउने नै हो। यस्तो अवस्थामा बैठक गर्नु र नगर्नुको कुनै अर्थ हुँदैन भन्नेमा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ,' प्रधानमन्त्री निकट स्रोतले भन्यो, 'प्रचण्डले प्रस्ताव फिर्ता लिने र साझा प्रस्ताव बन्ने ग्यारेन्टी नहुँदासम्म प्रधानमन्त्रीले बैठकमा भाग लिनुहुन्न।'
२२ दिनदेखि ओली-प्रचण्डको भेट भएको छैनः
पछिल्लो समय प्रधानमन्त्री ओली र प्रचण्डबीचको दुरी यति बढेको छ, दुईबीच २२ दिनदेखि भेट हुन सकेको छैन। गत कात्तिक २५ गते दुई अध्यक्षको 'वान टु वान' छलफल भएको थियो। त्यसयता भने पार्टीका बैठकमा बाहेक उनीहरूको भेट भएको छैन।
'२०७४ सालमा निर्वाचनका लागि गठबन्धन भएयता यति लामो समय दुई जनाको मात्रै भेट नभएको यो पहिलो पटक होला। उहाँहरूबीच धेरै नै असमझदारी बढेको छ,' स्रोतले भन्यो, 'बैठकमा दुई मिटरको भौतिक दुरी हुन्छ। त्यो बेलामा दुई अध्यक्षको अलग्गै कुरा हुने सम्भावनै रहँदैन।'
यसअघि दुई अध्यक्षबीच दुरी बढ्दा दोस्रो तहका नेताहरूले समन्वय गर्थे। यसपटक त्यसरी छलफल समेत नभएको स्रोतले बतायो।
मंसिर २ गते प्रचण्डलाई भेट्न महासचिव पौडेल खुमलटार पुगेका थिए। धुम्बाराहीमा मंसिर ५ गते महासचिव पौडेल र संसदीयद दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग भेट गरेका थिए।