प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने शर्त राखेका छन्।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो शर्त राखेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो जवाफी प्रस्ताव भने अध्ययनका लागि बन्द खाममा राखेर वितरण गरेका थिए।
'केपी कमरेडले पार्टी एकताका लागि शर्त राख्नुभयो। यो फिर्ता लिनुपर्छ र प्रचण्डले माफी माग्नुपर्छ भन्नुभएको छ' एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, 'पार्टी एकताको दिशामा जाने बाटो यही मात्रै हो। यो प्रस्तावलाई औपचारिक छलफल गर्न दिइँदैन। बहुमतको निर्णय मानिन्न भनेर भन्नुभएको छ।'
प्रधानमन्त्री ओली सहमत नभए पनि प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने एक सचिवालय सदस्यले बताए।
'उहाँले भनेर हुने भएत धेरै भइसक्थ्यो नी। त्यसैले उहाँले नचाहँदैमा छलफल नहुने भन्ने हुँदैन। चाहाना नभए पनि १६ गते बैठक राख्न तयार हुनुभयो' ती सचिवालय सदस्यले भने।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्र जनताका समस्याबारे कहिल्यै छलफल नभएको बरु व्यक्तिगत कुण्ठाका विषयहरु मात्रै प्रवेश हुने गरेको समेत बताएका थिए।
'हामी भाग्यमानी छौँ। आफ्ना घर छन् आफ्ना परिवार व्यवस्थित गरेका छौ। आफ्नो घर नभए घरबेटीको घरमा बसेका छौँ' बैठकमा प्रधानमन्त्रीले राखेको धारणाबारे स्रोतले भन्यो, 'तर जनतालाई के दिएका छौँ, के दिन चाहन्छौँ, जनताले हामीसँग गरेका अपेक्षा कति पुरा गरेका छौँ, त्यसमा हामीले छलफल कति गरेका छौ?'
अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पटक पटक पार्टी फुटाउने कदम चालिसककेको आरोप लगाए। प्रधानमन्त्रीले आफ्नो गल्ती कमजोरी नदेखेको समेत प्रचण्डले बताएका थिए।
'तपाईले पटक पटक पार्टी फुटाउने कदम चाले पनि हामीले रक्षा गर्दै पार्टीलाई यहाँसम्म ल्याइपुर्याएका छौँ। अहिलेपनि पार्टी फुट्न दिइन्न, पार्टी एकताको रक्षा गरिन्छ' प्रचण्डको भनाई उदृत गर्दै एक सचिवालय सदस्यले भने, 'तपाईमा दम्भ र अहमता अझैपनि रहेको छ। तपाईले आफूतिर हेर्दै हेर्नुहुन्न। आफ्नो गल्ती कमजोरी देख्नुहुन्न। तपाईलाई केही सच्याउनै पर्दैन भन्ने लाग्छ। त्यही कारणले समस्या आएको हो।'
बैठकमा आफूले बोलेको धारणा रेकर्ड गरेर मिडियामा दिएको भन्दै प्रचण्डले आपत्ति जनाएका थिए। मंसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राखेका धारणा मिडियाहरुमा जस्ताको तस्तै आएको भन्दै उनले असन्तुष्टि जनाएका थिए।
'अध्यक्ष जस्तो मान्छेले आफ्ना धारणा रेकर्ड गरेर मिडियामा दिनुभयो। त्यसपछि के बाँकी छ र? त्यसकारणले सबैलाई एकै ठाउँमा राखेर हामीले पनि प्रकाशित गरेको हो' प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो।
सहमतिमा मात्रै सबै निर्णय नहुने भन्दै विधिको आधारमा समेत निर्णय हुने प्रचण्डले बताएका थिए।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अन्तरबिरोध देखा परेको भन्दै यसलाई अन्तरसंघर्षको नियम अनुसार समाधान गर्नुपर्ने बताएका थिए। पार्टीको निर्ण सबैले मान्नुपर्ने उनको भनाई थियो।
अर्का वरिष्ठ नेता माधव नेपालले पार्टीको समस्या दुई जना अध्यक्षहरुको मात्रै समस्या नरहेको बताएका थिए।
'पार्टीको समस्या दुई अध्यक्षले मात्रै गरेर हुने होइन। पार्टीले नै समाधान गर्नुपर्छ। केन्द्रीय कमिटी सर्वोच्च अंग हो त्यहाँसम्म पुगेर भएपनि निर्णय गर्नुपर्छ' नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो, 'अन्तरबिरोध हुँदैमा पार्टी फुटन लाग्यो भन्नु ठिक हुँदैन। उचित समाधान निकाल्न सकिन्छ।'
उपाध्यक्ष वामदेब गौतमले हरेक कुरामा सहमति खोज्न नहुने बताए। उनले दुई अध्यक्षको सहमति भएमा मात्रै बैठक बस्नु गलत भएको भन्दै जसले माग गरेपनि बैठक बस्नुपर्ने बताए।