प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यागको सिलसिला आजैबाट सुरू गर्न तयार रहेको बताए। उनले आफूले पेश गरको दस्तावेजलाई जिम्मेवारी हस्ताक्षरको लिखत बनाउन तयार रहेको समेत बताएका छन्।
‘म आज खुला आह्वान गर्न चाहन्छु, त्यागको यो सिलसिला आजै सुरू गरौं। बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँं,’ प्रधानमन्त्री ओलीले जवाफी प्रस्तावमा भनेका छन्, ‘म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु। के तपाईं तयार हो?'
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई राजनीतिक प्रस्तावन नभनी आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोग पत्र समेत भनेका छन्। प्रचण्डले ‘अभियोग पत्र’मार्फत पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको समेत प्रधानमन्त्रीको आरोप छ।
३८ पृष्ठ लामो ५३ बुँदे जवाफका अधिकांश बुँदा प्रचण्डप्रति लक्षित छन्। जवाफमा प्रधानमन्त्री ओलीले विगतदेखि अहिलेसम्मका घटनाक्रमलाई राखेर प्रचण्डलाई जवाफ दिएका छन्। प्रचण्डको राजनीतिक प्रस्तावको जवाफी प्रस्ताव पेश गर्ने क्रममा समेत उनले आफ्नो आक्रोश पोखेका थिए।
उनले पार्टीभित्र जनताका समस्याबारे कहिल्यै छलफल नभएको बरु व्यक्तिगत कुण्ठाका विषय मात्रै प्रवेश हुने गरेको बताएका थिए।
‘हामी भाग्यमानी छौं। आफ्ना घर छन्, आफ्ना परिवार व्यवस्थित गरेका छौं। आफ्नो घर नभए घरबेटीको घरमा बसेका छौं,’ बैठकमा प्रधानमन्त्रीले राखेको धारणाबारे स्रोतले भन्यो, ‘तर जनतालाई के दिएका छौं। के दिन चाहन्छौं। जनताले हामीसँग गरेका अपेक्षा कति पूरा गरेका छौं। त्यसमा हामीले छलफल कति गरेका छौं?
‘माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति किन भंग गरेको?’
प्रधानमन्त्री ओलीले पेश गरेको जवाफी दस्तावेजनमा माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति उल्लंघन गरेको आरोप लगाएका छन्। पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन नेकपा माओवादीले माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति गरेर धोका दिएको समेत प्रधानमन्त्री ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा देखा परेको तत्कालीन नेकपा (माओवादी) लाई संविधान निर्माणको अगुवाइ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो। निर्वाचनमा धक्का खाएका तत्कालीन नेकपा (एमाले) र नेपाली काङ्ग्रेस आफ्ना कतिपय आधारभूत मान्यतामा सम्झौता गरेरै भए पनि संविधान बनोस् भन्ने पक्षमा थिए। तर निर्वाचन सफलताको उन्मादमा तपाईंले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोका दिनुभयो,’ ओलीले भनेका छन्, ‘उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला। कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच?’ पहिलो संविधानसभाबाट संविधान जारी नभएको दोष पनि ओलीले प्रचण्डलाई नै दिएका छन्।
सहमतिका आधारमा संविधान बनाउन २०६९ साल जेठ २ गते गरिएको सहमति किन भङ्ग गरियो भनेर समेत ओलीले प्रश्न गरेका छन्।
‘छोरीका लागि मतपत्र च्यात्न लगाउनुभयो’
प्रधानमन्त्री ओलीले आफ्नो जवाफी प्रस्तावमा २०७४ को स्थानीय निर्वाचनमा प्रचण्डले छोरीलाई जिताउन मतपत्र च्यात्न लगाएको उल्लेख गरेका छन्। २०७४ को निर्वाचनमा मतपत्र गन्ने क्रममा तत्कालीन माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको एउटा वडामा पुनःनिर्वाचन भएको थियो। निर्वचापछि प्रचण्डकी छोरी रेणु दाहालले तत्कालीन एमाले उमेदवार देवी ज्ञवालीलाई हराएकी थिइन्।
‘दोस्रो संविधानसभामा कमजोर बनेको जातीय-क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो। अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनुपर्ने ठाउँमा तपाईंलाई पुर्यायो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गासिँदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने। ठिक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको।’
गठबन्धन पार्टीलाई थाहै नदिई छापामार शैलीमा विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दासमेत आफूमाथि नैतकिताको प्रश्न आउँछ भनेर प्रचण्डले नसोचेको ओलीले उल्लेख गरेका छन्। २०७४ को संघीय र प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। कांग्रेससँग सरकारमा रहेको बेलामा माओवादी केन्द्रले तत्कालीन प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेल गरेको थियो।
‘मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन कमरेड, आफैं सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन?,’ उनले भनेका छन्, ‘म आज पनि यो प्रश्न सोध्दिनँ, किनभने यो राम्रो कामको लागि तपाईंले लिएको जोखिम हो भनेर मैले अनुमान गरेँ। तर जब आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरुले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरूलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ, गम्भीर नैतिक प्रश्न त उठ्छ नै।’
‘संघीय समाजवादीले नमानेपछि मात्रै प्रधानमन्त्री नबन्नुभएको हो’
प्रधानमन्त्री ओलीले तत्कालीन संघीय समाजवादी पार्टीले नमानेका कारणले मात्रै प्रचण्ड प्रधानमन्त्री नभएको आरोप लगाएका छन्। २०७४ को निर्वचानको मत परिणाम सार्वजनिक गर्न ढिलाइ गर्दा समेत प्रचण्ड मौन बसेको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘निर्वाचन आयोगमा तपाईंले सिफारिस गरेर पठाइएका साथीहरूको भूमिका यस सम्बन्धमा के थियो, दुनियाँलाई थाहा छ। गठबन्धनको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार बन्न कृत्रिम अवरोध सिर्जना गरियो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘प्रतिनिधिसभामा १६ सिट जितेको सङ्घीय समाजवादी फोरमले सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर सरकार बनाउनु गलत हुने कुरा गरेपछि मात्रै घटनाक्रमले सहज मोड लिएका हुन्।’
प्रधानमन्त्रीको सपथ लिदा समेत प्रचण्डले माओवादीका तर्फबाट मन्त्रीहरू नपठाउँदा जनताले पहिलो गाँसमै ढुंगाको महसुस गरेको भन्दै ओलीले आक्रोश पोखेका छन्।
‘मैले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने दिन दुबै पार्टीका साथीहरूलाई साथै राखेर सानो टिम बनाउन पाइनँ। जनताले पहिलो गाँसमै ढुङ्गा लागेको अनुभव गरे,’ उनले भनेका छन्, ‘२०७४ फागुन ७ गते राति दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्रीको लिखतमा सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण बनेन।’
महाधिवेशनमा निर्वचानबाट नेतृत्व चयन गर्न तपाईं तयार हो?
प्रधानमन्त्री ओलीले महाधिवेशनबाट निर्वाचनका आधारमा नेतृत्व चयना गर्नका लागि आफू तयार रहेको बताएका छन्। प्रचण्डले आफूले पायक परेको हिसाब गरेर अल्पमत र बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गरेको समेत ओलीको आरोप छ।
‘आज तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरूको भावना होइन, टाउका गन्न थाल्नु भएको छ,’ उनले भनेका छन्, ‘कित्ताकाट गर्न थाल्नु भएको छ। सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एक जना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो?’
बहमुतको विधि अवलम्बन गर्ने हो भने एकताको आधार फेरेर विधान संशोधन गर्न समेत ओलीले सुझाएका छन्। ‘मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो? म त तयारै छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
‘भदौ २६ को सहमतिमा प्रतिबद्ध छ’
प्रधानमन्त्री ओलीले आफू भदौ २६ गतेको सहमतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
‘भदौ २६ को उक्त सहमतिप्रति म आज पनि उतिकै प्रतिबद्ध छु। मैले त्यसमा प्रयोग भएको एउटा शब्दप्रति मात्रै ध्यानाकर्षण गराएको हुँ, जुन गम्भीर र मुलुकको संवैधानिक प्रबन्धसँग सम्बन्धित छ,’ उनले भनेका छन्, ‘राज्यको नीति निर्माण, मुख्य राजनीतिक नियुक्ति र सरकार सञ्चालनका नीतिगत पक्षहरूमा पार्टी नेताहरूको परामर्श आवश्यक छ भन्ने कुरामा म स्पष्ट छु। तर प्रत्येक नियुक्ति, मन्त्रिपरिषदका प्रत्येक निर्णय या गठन-पुनर्गठनमा सहमति नै खोज्ने कुरा भने सम्भव छैन।’
दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री भनिए पनि आफूले संयुक्त सरकारको प्रधानमन्त्रीभन्दा पनि बढी असहजताका बीच काम गर्नु परेको उनको गुनासो छ।
‘सरकाले गरेका काम देखिएन’
आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूलाई कहिल्यै चर्चा नगरिएको उनको गुनासो छ।उनले सरकरले गरेका सामाजिक उत्तरदायीका काम र विकास निर्माणका कामको फेहरिस्त समेत उल्लेख गरेका छन्।
‘घरबारविहीनहरूलाई आवास उपलब्ध गराउने, फुस र खरका छानालाई जस्तापाताले विस्थापित गर्ने अभियान अगाडि बढेको छ। चक्रवात, भूकम्प र बाढीपहिरो पीडितहरूमध्ये अधिकांशलाई आवास उपलब्ध गराइएको छ,’ उनले भनेका छन्, ‘संविधानले निर्देश गरे अनुसार भूमिहीन र दलितहरूले छिट्टै आवास र जग्गा प्राप्त गर्ने छन्। भूमि बैङ्कमार्फत् किसानले खेती गर्न जमिन पाउने छन्। श्रमिकहरूको न्यूनतम पारिश्रमिक मात्रै होइन, योगदानमा आधारित सामाजिक सुरक्षा र बेरोजगार भत्ता समेत सुनिश्चित गरिएको छ।’
भ्रष्टचार नियन्त्रणमा भइरहेका प्रयासलाई नजरन्दाज गरेर कतिपय घटनाहरूमा जबरजस्ती जोडन खोजिएको समेत उनले उल्लेख गरेका छन्। विकास निर्माणका आयोजनाहरूमा उल्लेख्य उपलब्धी भएको उनको दाबी छ।
‘नेपालको रणनीतिक विकासका महत्वपूर्ण पूर्वाधार, जस्तै केरुङ-काठमाडौं र रक्सौल-काठमाडौं क्रसबोर्डर रेलवे, पूर्व-पश्चिम विद्युतीय रेलमार्ग, जलमार्ग, दुई वटा नयाँ विमानस्थल, नागढुङ्गा सुरुङमार्ग, काठमाडौँ-तराई द्रूतमार्ग आदिको काम अगाडि बढ्दै छ,’ उनले भनेका छन्, ‘टोखा-छहरे र सिद्धबाबामा सुरुङ मार्गको निर्माण सुरु हुँदै छ भने पूर्व-पश्चिम राजमार्गको विस्तारसँगै पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण करिडोरहरूको निर्माण र स्तरोन्नति तीव्रसाथ अगाडि बढेको छ। प्रदेश दुईका लागि रुपान्तरणकारी परियोजना सुनकोसी-मरिन डाइभर्सन सुरु हुने चरणमा छ।’
‘प्रचण्डको प्रतिवेदनलाई खारेज गरौं’
प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रस्तावलाई अस्वीकार गर्न समेत आग्रह गरेका छन्। विचारमा, सङ्गठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन नदिने समेत उनले प्रतिबद्धता जनाएका छन्।
‘कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउनु भएका आरोपहरूको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा बिग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ।’