भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
सिंहदरवारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नविग्रिएको दावी गरे।
कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ। त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो।’
दुईपक्षीय सम्वन्ध सभ्यतासँग जोडिएको भन्दै उनले जस्तै प्रतिकुल अवस्थामा पनि सम्वन्ध नबिग्रिएको बताए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए। नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुई देशको सम्बन्धको जग बलियो रहेको उनको भनाइ छ।
सचिव श्रृङ्गलाले आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। यसैबीच भेटपछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डेसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरे।
श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन्।