नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् ऊर्जा मन्त्री वर्षमान पुनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेसम्म धेरै कुरा सहेर बसेको बताएका छन्।
बिहीबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै प्रचण्डनिकट पुनले अब पनि सहने हो भने पार्टीलाई नै अप्ठ्यारो पर्ने बताए।
'साढे दुई वर्षसम्म कमरेड प्रचण्डले सबै कुरा सहनुभयो। थुप्रै कुरा भए। चुनावमा ३२ लाख र १६ लाख मत ल्याएको पार्टी हो। प्रत्यक्ष निर्वाचनमा एकले अर्कालाई सहयोग गरेको हो। जनताको साझा अभिमत दुई पार्टीले पाएको भए पनि त्यसलाई सम्मान गरिएन,' उनले भने,'त्यो नहुँदा पनि प्रचण्डले सहनुभएको हो तर अहिले अति नै भयो। साह्रै भयो भनेर आफ्ना आक्रोश र भावना राजनीतिक प्रस्तावमार्फत् पेस गर्नुभएको छ। धेरै कुरा सहनुभयो तर अब सहँदा आन्दोलनलाई अप्ठ्यारो पर्छ, समग्र पार्टीलाई अप्ठ्यारो पर्छ।'
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीविरूद्ध या अरू कोहीका विरूद्धभन्दा पनि कम्युनिष्ट आन्दोलन अघि बढ्न पर्छ भन्ने सोचाइबाट प्रचण्डको पछिल्लो प्रतिवेदन आएको उनले बताए।
'समाजवादमा देश अघि बढ्नु पर्यो। शासनमा सुधार सुशासन हुनुपर्यो। विकास, समृद्धि र जनताको आकांक्षाअनुसार हुनुपर्यो। त्यस्तो गर्न सरकार र पार्टी नेतृत्व ठीक दिशामा अघि बढिरहेको छैन भने प्रश्न उठाउनु पर्छ। त्यो प्रश्न प्रचण्डले उठाउनुभएको छ,' उनले भने,'लेख्दा कतिपय बढी भयो होला कति तीखा भए होलान्, त्यो कुरा त एकै ठाउँमा बसेर मिलाउन सकिन्छ।'
नेकपाभित्र अहिले देखिएको विवाद र यसको निकासमा केन्द्रित रहेर मन्त्री पुनसँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।
यस कुराकानीका मुख्य अंश:
- नेपाल कम्युनिष्ट पार्टीको स्थापना राजनीतिक इतिहासको आवश्यकता हो। तत्कालीन माओवादी र एमालेले समाजवादमा जानुपर्छ भनेपछि एकताको ठाउँमा आएको हो। जनताले पनि एकै सोच भएका दुई पार्टीभन्दा एउटै पार्टी चाहेकाले एकता भएको हो। त्यसैले यो सजिलै फुट्ने पार्टी हो।
-मार्क्सवादले विपरीत लाग्ने दृष्टिकोण, सोच र कार्यशैली आपसमा घर्षण भएपछि त्यसले निकाल्ने निष्कर्ष सकारात्मक हुन्छ भन्ने सिकाउँछ। सकारात्मक तरिकाले रूपान्तरण गर्ने सक्यौं भने अझै गतिशील बनाउन सकिन्छ।
-कमरेड प्रचण्डको प्रतिवेदन फिर्ता हुने सम्भावना छैन। समाजवादी पार्टीको कार्यशैली समाजवादमा जाने सरकारको योजना के हुन्छन् भन्ने छ? समाजवादी सरकारको योजना कस्तो हुनपर्छ? गतिशील पार्टी निर्माण गर्ने विषय छ। सरकारले गरेका काममा प्रश्न उठाइएको छ। त्यसको नेतृत्व गरेको प्रधानमन्त्रीको कार्यशैली माथि प्रश्न उठेका छन्। यो कमरेड प्रचण्ड र ओलीको मात्रै विषय पनि होइन, पार्टीमा उठेको विषय हो। प्रधानमन्त्रीले पनि प्रतिवेदन ल्याएपछि दुबैमा बहस गरेर सकारात्मक निष्कर्ष निकाल्ने प्रयास गर्नुपर्छ।
-आएका समस्यालाई छलफल गर्ने बहस गर्ने उचित निष्कर्ष निकाल्ने र पार्टी सञ्चालन गर्ने गर्नुपर्छ।
-सामान्यत: १० दिनको समय प्रधानमन्त्रीले माग्नुभएको हो। त्यो प्रतिवेदन आएपछि सचिवालयमा पेश हुन्छ। त्यसलाई स्थायी कमिटीमा छलफल गरिन्छ। आवश्यक परे केन्द्रीय कमिटीमा पनि छलफल गरिन्छ। किनकी गम्भीर राजनीतिक वैचारिक र कार्यशैलीका विषय छन्। यी सबै विषय केही नेताहरू बसेर छलफल गरेर हल हुँदैन।
-दुवै प्रतिवेदन स्थायी कमिटीमा जान्छ। त्यसमा सकारात्मक छलफल गरेर आवश्यक परे साझा दस्तावेज बन्न सक्छ।सहमति भएका विषयको एउटा दस्तावेज बनाउने र असहमति भएका विषयलाई महाधिवेशनमा लैजान सकिन्छ।
-हरेक विषयलाई एकतासँग जोड्न मिल्दैन। आफूलाई मन परे एकता रहने, मन नपर्दा एकता भंग हुन्छ भन्नु पार्टीको लागि घातक हुन्छ।
-दस्तावेजहरू मिडियामा आएकै थिए। चार वटा राजनीतिक प्रतिवेदन र चिठीहरू एकै ठाउँमा राखेर पठाइएको भन्नेछ, यो नौलो कुरा होइन किनकी यसले पार्टीमा भएका कुरालाई खुलमखुला गरेको छ।
-अहिलेको विवादमा पूर्वमाओवादीहरू मौनभन्दा पनि भूमिगत पृष्ठभूमिबाट आएका हामी जनवादी केन्द्रीयताअनुसार चल्ने भएर हो। बहुमतको निर्णय कार्यान्वयन गर्ने, आफ्ना कुरा कमिटीमा राख्ने र नेतृत्वको निर्णय गर्ने भन्ने स्कुलिङबाट आएकोले त्यस्तो भएको हो।
- तत्कालीन माओवादी साथीहरू मौनभन्दा पनि सकेसम्म छलफल अस्वस्थ नहोस् भनेर सीमाभित्र बसेको हो। बाहिर बोल्दा एकता कमजोर नहोस् भनेर हो।
-कमरेड केपी ओली अलिअलि विचारमा फरक भएजस्तो, पुरानै ठाउँमा फर्किन खोज्नुभएजस्तो, पुरानो एमाले जहाँ थियो त्यहीँ फर्किन लागेजस्तो देखियो। बहुदलीय जनवाद अँगाल्ने तर समाजवाद उन्मुख जनताको जनवादको कार्यदिशाबाट पछि हट्न खोजेजस्तो देखियो। यसलाई खबरदारी गरेको देखियो।
- पार्टी र सरकार सानो समूहले सञ्चालन गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको हो।
-दोस्रो पुस्ताको नेताको कमजोरी पनि छ। कमरेड प्रचण्ड ३४ वर्षमा महामन्त्री हुनुभएको थियो। कमरेड केपी, माधव नेपाल ,वामदेव गौतम, ईश्वर पोखरेल सबै ३५ वर्षमा नेता भइसक्नुभएको थियो। आ-आफ्नो समूहमा आफूभन्दा अग्रज नेताहरूको कमजोरीमा संघर्ष गरेर उहाँहरू नेता हुनुभएको थियो।
-हामी दोस्रो पुस्ताका भनेका नेताहरू अहिले सबैभन्दा कम उमेरको ५०का छौं। हामी अलि बढी 'एडजस्ट' हुन खोज्यौं कि। तपाईंहरू अभिभावकीय भूमिकामा बस्नुस् भनेर हामीले नेतालाई भन्न नसकेको हो कि भनेर समीक्षा गरेका छौं।
-नयाँ पुस्तालाई हस्तान्तरण गर्ने एउटा विधि र प्रणाली बनाउनै पर्छ। जहाँसम्म अहिलेको अन्तरसंघर्षमा पुस्तान्तरणको कुरा अलि रकमीजस्तो देखिएको छ।
पुनसँग भिडिओ कुराकानीको पूर्ण अंश