नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला गोरखा र मनाङ जाने भएका छन्।
भारतीय सहयोगमा बनेका निजी घर, विद्यालय र गुम्बा पुनर्निर्माणको उद्घाटन गर्न श्रींगला गोरखा र मनाङ जान लागेका हुन्।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रींगलाले शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम रहेको बताए।
‘गोरखामा ५० हजार घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता थियो। जसअनुसार ४६ हजार घर बनिसकेको छ,’ उनले भने, ‘तीन वटा विद्यालय पुनर्निर्माण भएको छ। त्यो उद्घाटन गर्ने कार्यक्रम छ।’
भूकम्पले भत्काएका निजी घर र विद्यालय भवन भारतीय सहयोगमा निर्माण भएका थिए।
यस्तै, उनी मनाङ पनि जाँदैछन्।
भूकम्पले भत्काएको गुम्बा भारतीय सहयोगमा मनाङमा पुनर्निर्माण गरिएको थियो।
उक्त गुम्बा उद्घाटनका लागि उनी मनाङ जान लागेका हुन्।
विदेश सचिव श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आएका हुन्।
उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव लगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ।