प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यकारी भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई लेखेको पत्रमा आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो भनेर समेत सोधेका छन्।
प्रचण्डलाई सम्बोधन गरिएको पत्र सचिवालयका अन्य सदस्यहरुलाई समेत बोधार्थ पठाइएको छ।
'कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो? पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो? त्यसको रोडम्याप के कस्तो बन्यो?' प्रधानमन्त्री ओलीले पत्रमा भनेका छन्।
'महाधिवेशनको तयारीका लागि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा र प्रस्ताव तयार गर्ने के के गृहकार्य गर्नुभयो? र त्यसमा मसँग यहाले के सहयोग माग्नुभयो? या मैले कही बाधा अवरोध पो पुर्याएँ कि,' उनले थप भनेका छन्।
उनले विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा यसैगरी बाँध्ने र घेराबन्दी गरिएको थियो भनेर समेत प्रश्न गरेको छन्। आफूलाई बैठकबाट भाग्न खोजेको भनेर गलत आरोप लगाइएको समेत उनले पत्रमा लेखेका छन्।
पार्टी विभाजन गरेर आआफ्नो बाटो हिडौं भन्यो भनेर लगाइएको आरोपलाई प्रधानमन्त्रीले पूर्ण रूपमा अस्विकार गर्ने बताएका छन्।
महाधिवेशनपछि अध्यक्ष र आगामी निर्वाचनपछि प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दा समेत त्यो बेलासम्म कुर्न नसकेको भन्दै प्रधानमन्त्रीले आश्चर्य व्यक्त गरेका छन्।
'चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छोडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन? के कमरेडहरूलाई महाधिवशेनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन?,' पत्रमा प्रधानमन्त्री ओलीले भनेका छन्, 'दुई वर्षपछि आम निर्वाचन हुन्छ। मेरो विश्वास छ, नेकपाको विजय यात्रा जारी रहने छ। त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ। के कमरेडहरुलाई दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो?'
मन्त्रिपरिषद पुनर्गठनमा उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएको आरोप प्रधानमन्त्री ओलीले प्रचण्डलाई लगाएका छन्।
हेर्नुस् प्रधानमन्त्रीले प्रचण्डलाई लेखेको पत्रको पूर्णपाठः
यी पनि हेर्नुस्ः प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफी पत्र- अति गर्नु, अत्याचार नगर्नु
नेकपा सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ