प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिएका पूर्व माओवादी नेताहरूले उनलाई आफ्नो कार्यशैली सुधार्न सुझाव दिएका छन्।
प्रधानमन्त्रीसँग भएका भेटघाट र कुराकानी क्रममा आफूहरूले यस्तो सुझाव दिएको नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सेतोपाटीलाई बताए।
'तपाईंले जे गर्नुभयो, त्यसले बाहिर राम्रो परको छैन। मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा एकतर्फी गरेर राम्रो सन्देश गएको छैन,' प्रधानमन्त्रीलाई आफूहरूले भनेको जानकारी गजुरेलले दिए।
आफूहरूको सुझावबारे उनले थप प्रष्ट्याए, 'अहिले पार्टी एकताको स्पिरिट बिग्रिएको छ। तपाईंका बाध्यता पनि होलान्। तर तपाईंले गरेका कामको बाहिर राम्रो सन्देश गएको छैन। स्थायी कमिटीको स्पिरिटलाई पक्डिने गरी जानुस्।'
केही समयअघि अध्यक्ष र प्रधानमन्त्री दुवैबाट ओलीलाई हटाउन खोजिएको भए पनि अहिले दुवै पद सुरक्षित भएका बेलामा उनले पहलकदमी लिनुपर्ने गजुरेलले बताए।
'तपाईं आफैं लचक भएर जानुपर्छ भनेर भनेका छौं। अलिअलि सुनेको हो कि जस्तो लाग्छ। तर व्यवहारमा त्यस्तो देखिँदैन,' उनले भने।
अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्थायी कमिटीको निर्णय कार्यान्वयन गराउनु नै पार्टीलाई फुटबाट जोगाउने उपाए भएको बताए। उनले फुटमा नजान प्रयास भइरहेको समेत बताए।
'हामीले इगो नलिनुस्, टुटफुटमा नलैजानुस् भनेका छौं। स्थायी कमिटीको निर्णय कार्यान्वयन भएको भए यस्तो हुन्थेन। अस्ति नै बैठकले विवादको टुंगो लगाएको हो,' उनले भने, 'त्यही कार्यान्वयन नगर्दा समस्या भएको हो।'
नेकपाभित्र अन्तरविरोध बढेसँगै केही पूर्व माओवादी नेताहरू प्रधानमन्त्री ओलीसँग निकट भएका थिए। स्थायी कमिटी सदस्य एवम् उद्योगमन्त्री लेखराज भट्टले सार्वजनिक रुपमै प्रधानमन्त्रीलाई साथ दिने बताएका छन्। सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा 'बादल' पनि यताउता गरिरहन्छन्। थापा निकट श्रोतका अनुसार सरकारका कामहरूमा प्रधानमन्त्रीलाई साथ दिने र अन्तिम परेको अवस्थामा प्रचण्डलाई साथ दिने उनको योजना छ।
स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र मणि थापा पुष्पकमल दाहाल 'प्रचण्ड'सँग असन्तुष्ट बनेका थिए भने उनीहरूको बालुवाटारमा हिमचिम बढेको थियो।
पछिल्लो समय भने प्रधानमन्त्रीसँग निकटता बढाएका भनिएका यी नेताले ओलीलाई सच्चिएर पार्टीलाई टुटफुटबाट जोगाउन भनेका छन्।
स्रोतका अनुसार प्रचण्डले सम्झौता गरेर प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा ओली नै छाड्दा पनि प्रधानमन्त्रीले उल्टै पेल्न खोजेको र समस्या नसुल्झाएपछि उनीहरू पनि असन्तुष्ट बनेका हुन्।
पूर्व माओवादी क्याम्पबाट टाढिएकामध्ये उद्योगमन्त्री भट्ट बाहेक अरू नेता ओली क्याम्पमा नजाने प्रचण्डनिकट एक नेताको दावी छ।
'बादलजी सत्ता पाउन्जेल प्रतिगामी बने र भए पनि उतै रहनुहुन्छ। जब सत्ता रहँदैन त्यसपछि उहाँ क्रान्तिकारी बनेर यता आउनुहुन्छ,' प्रचण्ड-नेपाल निकट एक नेताले भने, 'टोपबहादुर, मणि र हरिबोलजीहरू पनि अहिले तटस्थ देखिनुभएको छ। उहाँहरू आफूसँगै रहनेमा प्रचण्ड कमरेड विश्वस्त देखिनुहुन्छ।'
श्रोतका अनुसार स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई रक्षामन्त्री बन्ने प्रस्ताव आएको भए पनि उनले अस्वीकार गरेका छन्। आफू प्रचण्डको प्रस्तावमै मन्त्री बन्ने जवाफ रायमाझीले प्रधानमन्त्रीलाई दिएको श्रोतको दावी छ।
सेतोपाटीसँग कुरा गर्दै रायमाझीले कसको प्रस्तावमा मन्त्री बन्ने भन्दा पनि अहिले समस्या समाधान गर्नु नै महत्वपूर्ण हुने बताए। आफूलाई मन्त्री बन्न प्रस्ताव आएको भने उनले संकेत गरे।
'म एउटा व्यक्ति उपप्रधानमन्त्री, मन्त्री बनौंला। त्यो ठूलो कुरा होइन। मैले व्यक्ति बनेर हुँदैन। समग्र सेटमा मिलाउनुपर्छ भनेको छु,' उनले भने, 'बहुमत र स्थायी सरकार भए पनि हाम्रो घोषणापत्र अनुसार काम भएको छैन। एकजना मान्छे थप्ने, राख्ने र निकाल्ने गर्दैमा केही हुँदैन। समग्र सेटमा जाने परिस्थिति बन्यो भने सोचौंला, नत्र भने जान्न भनेको हो। कसैको सिफारिसमा जाने-नजाने भनेको होइन।'
अहिलेको समस्या कार्यनीति र योजनासँग सम्बन्धित रहे पनि शक्ति सन्तुलनसँग समेत जोडिएको उनको भनाइ छ।
'अहिलेको मुख्य समस्या भनेको शक्ति सन्तुलन मिलाउनु हो। कसैले पनि एकलौटी रूपमा नगर्ने र अवसर बाँड्ने भन्ने हो,' उनले भने, 'एउटा पक्ष मात्रै भनियो भने त पार्टी एउटा पक्षको मात्रै त होइन। यो पार्टीमा सबैको त्याग र योगदान छ।'
स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेमा सबै समस्या समाधान हुने उनको भनाइ छ।