प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको दशैंको शुभकामना सन्देशमा कालापानी क्षेत्रबिनाको नक्सा भएको निशान छाप प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा चर्चा सुरू भएको छ।
शुक्रबार फुलपातीको दिन प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट शुभकामना लेखिएको तस्बिर सार्वजनिक गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो फोटोको छेउ निशान छाप राखेका छन्। त्यसको मुनि लेखिएको छ- २०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
यही कुरा अंग्रेजीमा लेखिएको अर्को पनि ट्वीट उनले गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको शुभकामना सन्देशमा लिम्पियाधुरासहितको नक्सा नहुनुलाई सामान्य मान्न नसकिने बताएका छन्।
‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू? गम्भीर विमती दर्ज होस्!’ उनले प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिन सट राख्दै ट्वीटरमा लेखेका छन्,‘ देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन?’
दुई दिनअघि प्रधानमन्त्री ओलीले भारतको खुफिया एजेन्सी रअका प्रमुखलाई बालुवाटारमा भेटेका थिए। कतिपयले उक्त भेटको प्रभाव नक्सामा देखिएको भन्दै व्यंग्य गरेका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयले भने त्यहाँ प्रयोग भएको निशान छापमा लिम्पियाधुरासहितको नक्सा भएको दाबी गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सानो भएकाले नक्साको चुच्चो नदेखिएको बताए।
‘सामाजिक सञ्जालमा कुरै नबुझी के-के भनिरहेका छन्। त्यो नक्सामा लिम्पियाधुरा छ, सानो भएर नदेखिएको हो,’ थापाले सेतोपाटीसँग भने।
गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।
संविधानको निशान छापमा भएको नक्सा परिवर्तन गर्न संविधान संशोधन गरिएको थियो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संविधान संशोधन सर्वसम्मत पारित भएपछि जेठ ७ गते भूमि व्यवस्था मन्त्री पद्मकुमारी अर्यालले नयाँ नक्सा जारी गरेकी थिइन्।