शनिबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले धमाधम आफूलाई कोरोनाभाइरसको संक्रमण भएको सार्वजनिक गरे।
गत वर्षमात्रै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित सम्पर्कमा रहिरहनु पर्ने उनीहरूलाई कोरोना देखिएपछि प्रधानमन्त्रीलाई के भयो भन्ने चासो बढ्यो। केहीबेरमा बालुवाटारले प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दियो।
तत्कालका लागि प्रधानमन्त्री ओलीलाई कोरोनाको संक्रमण नदेखिए बालुवाटारमा कोरोना भने छिरिसकेको छ। आइतबारसम्म उनका सल्लाहकार, सचिवालयका सदस्य, सुरक्षाकर्मी र अरू कर्मचारीलाई गरी बालुवाटारमा ८० बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अझै केहीको परीक्षण गर्न बाँकी छ।
अहिले आममानिसमा जिज्ञासा छ- बालुवाटारभित्र कोरोना कसरी पस्यो?
कोरोना कहर सुरू भएसँगै बालुवाटारमा पस्दा साबुन पानीले हात धोएर, ज्वरो नापेर र स्यानिटाइजर दलेरमात्रै भित्र जान पाइन्छ। सवारी साधनलाई पनि एक पटक स्प्रे गरिन्छ।
पहुँच नहुनेहरू बालुवाटार जान पाउने सम्भावना रहँदैन। जानेहरू सबैको मूल गेटमा रेकर्ड रहन्छ।
अधिकारीहरू अहिलेसम्म कोरोना संक्रमणको माध्यम पत्ता लगाइसकेका छैनन्। पछिल्लो समय भएका बाक्ला जमघट, सुरक्षाकर्मी वा कर्मचारीका माध्यमबाट कोरोनाले बालुवाटारको बाटो पहिल्याएको हुन सक्ने उनीहरूको आशंका छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले यसको कारण पत्ता लाग्न कठिन रहेको बताए।
'सेना, प्रहरी र सशस्त्र प्रहरीमा कोभिड-१९ का संक्रमित बढिरहेका छन्। त्यसको असर बालुवाटारमा रहेको सुरक्षा टोलीमा पनि पर्यो होला,' उनले भने,'सुरक्षा निकायबाटै यताउता भयो कि भन्ने हो। तर कसरी आयो भनेर पत्ता लगाउन कठिन छ।'
सुरूमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका चालकलाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणसँगै ती चालक फेरिएका थिए। त्यसलगत्तै प्रधानमन्त्री निवासमा खाना पकाउने भान्सेलाई कोरोना भएको थियो। भान्सेलाई देखिएपछि १० दिनअघि प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्लेलाई संक्रमण पुष्टि भयो। यही बीचमा उनकी निजी चिकित्सक दिव्या सिंह शाह पनि संक्रमित भइन्।
शुक्रबार र शनिबार बालुवाटारमा कोरोना संक्रमितको संख्या बढेको हो।
बालुवाटारमा कार्यरत एक कर्मचारीका अनुसार पछिल्ला दिनमा बालुवाटारमा मान्छेहरुको आउने जाने क्रम धेरै बाक्लिएको थियो। त्यहाँ कार्यक्रम पनि धेरै भएका थिए।
'सेना प्रहरीलाई बाहिर जान दिएको थिएन। त्यसैले उनीहरूबाट होइनजस्तो लाग्छ। यो बीचमा प्रधानमन्त्री निवासमा भएका कार्यक्रममा मानिसहरूको आवतजावत धेरै भयो। मिडियाकर्मी पनि आउने-जाने गरेका थिए,' ती कर्मचारीले भने,'सायद बालुवाटार आउने जानेबाटै कोरोना संक्रमण फैलिएको हुनसक्छ। '
भदौ २६ गते बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसेको थियो। ४५ सदस्यीय स्थायी कमिटी, उनीहरूका सहयोगी अनि सुरक्षाकर्मी र पत्रकार गर्दा बालुवाटारमा भीड हुनु स्वभाविकै थियो। तर त्यो बैठक बसेको धेरै दिन भइसकेको छ। स्थायी समिति बैठकको तीन दिनअघि प्रधानमन्त्री ओलीले मनोचिकित्सकसँग छलफल गरेका थिए। भदौ २८ गते एसिड पीडितसँग प्रधानमन्त्रीले छलफल गरेका थिए।
असोज ४ गते नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो। त्यो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागि थिए। उनीसँगै उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको अरू व्यक्तिसँग भेटघाट भएको पनि हुन सक्छ। असोज ५ गते प्रधानमन्त्री निवासमै राष्ट्रिय पुननिर्माण प्राधिकरणको बैठक बसेको थियो। असोज ६ गते सचिवालय बैठक बालुवाटारमा बसेको थियो। असोज ८ गते मिडिया एलाइन्सका प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटघाट गरेका थिए। यीबाहेक अरू सानातिना भेटघाट प्रधानमन्त्रीले गरिरहेकै हुन्छन्।
हरेक साता प्राय: सोमबार बस्ने मन्त्रिपरिषद् बैठक पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै राख्ने गरेका छन्।
प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराईले सुरक्षा टोलीबाटै कोरोना सरेको हुनसक्ने आशंका गरे।
'सुरक्षा टोलीमा धेरै संक्रमण भएकाले उनीहरुबाटै सर्यो किजस्तो लाग्छ। किनकी हामी बाहिर धेरै घुलमिल भएका छैनौं,' होम क्वारेन्टिनमा बसेका भट्टराईले सेतोपाटीसँग भने, 'समूहमा बस्ने भएकाले एक जनालाई कोरोना संक्रमण भएको अवस्थामा धेरैलाई भएको हुनसक्छ। हामीले धेरै मेन्टेन गरेकाले अन्यत्रबाट होजस्तो लागेको छैन।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कसरी संक्रमण भयो भनेर भन्न नसक्ने बताए।
'खै कसरी सर्यो के थाहा भयो र। यति धेरैलाई कसरी भयो भनेर बुझ्नै पाइएको छैन,' उनले भने।
आफ्ना सुरक्षाकर्मीका कारण बालुवाटारमा संक्रमण फैलिएको स्वीकार्न तीनै सुरक्षा निकायका अधिकारी भने तयार छैनन्।
'हाम्रो फौजमा कोरोना संक्रमित धेरै छन्। तर यसो भन्दैमा हाम्रै कारण सरेको होइन,' एक सुरक्षा अधिकारीले भने,'हामीले हाम्रो टोलीलाई बाहिर निस्कनसमेत दिएको छैन। उनीहरूको बाहिरी मान्छेसँग सम्पर्क पनि छैन।'
अहिलेसम्म नेपाल प्रहरीका देशभरिमा ४ हजार ४ सय ३३ जनालाई कोरोना संक्रमण भएको छ। जसमध्ये २ हजार ६ सय ९७ जनालाई निको भइसकेको छ।
त्यस्तै नेपाली सेनामा २ हजार ५ सय ९० जनालाई संक्रमण देखिएको छ। जसमध्ये ८ सय ८ लाई निको भएको छ। सशस्त्र प्रहरीका १ हजार २ सय ६७ जनालाई कोरोना संक्रमण देखिएको छ भने १ हजार १९ लाई निको भएको छ।