प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको छ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेका हुन्।
‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गर्छु,’ उनले संसदमा भने, ‘प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्छु।’
उनले प्रतिपक्षीलगायत सांसदलाई नाम र राजधानीमा समर्थन जनाइदिन पनि आग्रह गरेका थिए।
मन्त्री केसीले उक्त प्रस्ताव गरेलगत्तै विपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए।
कांग्रेस सांसद रमा अर्यालले राजधानीका नाम तीन ठाउँमा प्रस्ताव गरे पनि संसदमा एक ठाउँको मात्रै नाम पेश गरिएकोमा विरोध गरेकी थिइन्।
उनले सर्वसत्तावाद लाद्दै नाम र राजधानीका नाम पेश गरिएको पनि आरोप लगाइन्।
सभामुख पूर्णबहादुर घर्तीले आज सांसदलाई बोल्न समय नदिइएको बताए।
संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित गरिएको उनले जानकारी गराए।
राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ।
प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ। यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए।
नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले राजधानी र नामबारे आज प्रस्ताव लगेको हो।