महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लामो समयदेखि रिक्त रहेको राष्ट्रिय महिला आयोगमा छिट्टै पदाधिकारी नियुक्ति गर्ने बताएका छन्।
नेतृत्व तहमा संवैधानिक आयोगहरुलाई पूर्णता दिने विषयमा गहन छलफल भइरहेको उल्लेख गर्दै उनले राष्ट्रिय महिला आयोगको पदाधिकारी छिट्टै नियुक्त हुने बताए।
आइतबार काठमाडौंमा आयोजित ‘विपदमा महिला अधिकार र राष्ट्रिय महिला आयोग’ विषयक भर्चुअल बैठकमा बोल्दै उनले दशैंअघि नै सो आयोग गठन गर्नेगरी संवैधानिक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई अघि बढाएको बताए।
उनले राष्ट्रिय महिला आयोगको पदाधिकारी नियुक्ति गर्ने काम संवैधानिक परिषदको भएपनि त्यसका लागि आफूले पहल गरिरहेको दावी गरे।
महिला हिंसाका घटना हुन नदिन पनि महिला आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुनेमा आफू सचेत रहेको गुरुङको भनाई थियो।
मन्त्री गुरुङले महिलामाथि हुने हिंसा सुनुवाई गर्न महिला आयोगले संचालनमा ल्याएको हटलाईन सेवा ११४५ लाई थप प्रभावकारी बनाउन मन्त्रालयले छिट्टै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
कार्यक्रममा बोल्दै यूएन सिड कमिटी उपाध्यक्ष बन्दना राणा, महिला अधिकारकर्मी डा. रेणु अधिकारीलगायतले महिला हिंसाका घटना हुन नदिने संवैधानिक आयोग भएकाले महिला आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए।