बुधबार प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरूवा भएकी सचिव सम्झना काफ्ले हाजिर गर्न कार्यालय पुगेकी थिइन्।
त्यही बेला कर्मचारीहरूले सामान्य भेटघाट कार्यक्रम समेत राखेका थिए।
सोही भेटघाट कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहका स्वकीय सचिव लगायतले होहल्ला गर्दै हाजिरी रजिष्टार समेत खोसेको त्यहाँ उपस्थित एक कर्मचारीले बताए।
ती कर्मचारीका अनुसार मन्त्री साहका सचिवालय सदस्यहरूले सचिवको कार्यालयमा ताल्चा लगाएपछि स्थिति बिग्रिइएको थियो। मन्त्रीकै आदेशमा सचिव काफ्लेलाई हाजिर गर्न नदिइएको ती कर्मचारीको दाबी छ।
स्रोतका अनुसार प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह अनुकूलको सचिव नपठाइएकाले हाजिरी हुन नदिइएको हो।
मन्त्रालयका निमित्त सचिव विजय महतोको अगुवाइमा सामान्य भेटघाट कार्यक्रम बिथोलिएपछि सचिव काफ्ले घर फर्किइन्।
यसबारे सचिव काफ्लेलाई सोध्दा उनले भनिन्, 'म हिजो कार्यालय समयमा त्यहाँ पुगेकी थिएँ तर त्यहाँ हाजिरी हुने वातावरण नरहेकाले त्यतिकै फर्किएँ। '
आफूलाई हाजिरी हुनका लागि पत्र नदिएसम्म अब आफू त्यहाँ नजाने उनले जनाइन्।
उनले यसबारे प्रमुख सचिव अर्जुन पोखरेलसँग छलफल गरेको बताइन्।
यस विषयमा मन्त्री साहलाई प्रश्न गर्दा मन्त्रालयमा सचिव हाजिरी हुन पुग्दा भएको विवादको विषयमा आफूलाई थाहा भए पनि छलफलपश्चात् मात्रै केही जानकारी गराउने प्रतिक्रिया दिए।
उनले संघ सरकारको छोटो समयमै सचिव फेर्ने परिपाटी गलत रहेको समेत बताए।
मन्त्रालयमा सचिव हाजिरी हुन नदिएको घटनाको केही घण्टा नबित्दै मन्त्री साहले ‘आफू कसैको आदेशपालक नभई जनादेशको पालक रहेको तथा यो अवस्था नरहे आफू पद छोड्न समेत तयार रहेको’ भनी फेसबुक स्टाटसमै लेखेका छन्।