प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा गएको पहिरोमा परेकालाई उद्धार गरी राहत उपलब्ध गराउन माग गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर स्याङ्जालगायत ठाउँमा गएका पहिरोमा परेकाको उद्धार गर्न सरकारसँग माग गरेका हुन्।
‘अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ तमादीमा आज विहान गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु र १ जना वेपत्ता भएका छन्।
त्यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा १ जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिदा ५ जना वेपत्ता छन्।
कपिलवस्तुको बनगाई–डोहोट सडकखण्ड अन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा १ जनाको मृत्यु र १ जना वेपत्ता भएको घटनाप्रति कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गर्दछ,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।
पहिरोमा परेका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि कांग्रेसले गरेको छ।
‘पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग कांग्रेस माग गर्दछ,’ पौडेलले भने।