नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेट गरेका छन्।
पूर्व परराष्ट्र मन्त्री र सत्तारुढ पार्टीको प्रवक्ता समेत भएकाले उनले विदेशी कुटनीतिज्ञहरुसँग भेट गर्नु स्वभाविक हो। तर श्रेष्ठले विदेशी कुटनीतिज्ञसँग भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई अनिवार्य रुपमा राख्ने गरेका छन्।
बुधबार भारतीय राजदूतसँग आफ्नै निवास हरिसिद्धीमा भेट्दा श्रेष्ठले परराष्ट्रको साउथ एसिया डेस्कका टिकाराम उपाध्यायलाई राखेका थिए। हुन त यो स्वभाविक हो तर नेपालमा धेरै नेताहरुले आफूखुशी कुटनीतिज्ञ भेट्ने गरेकाले यसलाई सकरात्मक रुपमा हेर्ने गरिन्छ।
‘उहाँ नेपाल आएपछि शिष्टाचार भेटको लागि आउनुभएको थिएन। कोरोनाका कारणले होला। १०–१२ दिन अगाडि भेट्ने भन्नुभएको थियो। मैले भेट्दा मासमै भेट्छु र भेटदा चिया पनि खुवाउँदिन, भनेर भनेको थिएँ’ श्रेष्ठले भने, ‘राजदूतसँग भेट्ने भनेपछि परराष्ट्र मन्त्रालयलाई खबर गरेको थिएँ। किनकी म कोही पनि विदेशी नेता र कुटनीतिज्ञ भेट्दा परराष्ट्रको प्रतिनिधि राखेर मात्रै भेट्छु।’
त्यसो त श्रेष्ठले विदेशमा नेताहरु, कुटनीतिज्ञ भेट्दा समेत विदेशस्थित दूतावासका प्रतिनिधि राख्ने गर्छन्। ‘हामी जोकोहीले पनि परराष्ट्रका प्रतिनिधि राखेर भेट्नुपर्छ। ताकि मन्त्रालयमा, हाम्रा नेताहरु कसले के गरेको छ भनेर संस्थागत रुपमा रेकर्डमा हुन्छ’ उनले भने, ‘म आफैले मन्त्रालय हुँदा पनि त्यसमा जोड गरेको हो। यो देशको हितमा छ।व्यक्तिलाई पनि अनुशासित बनाउनेसँग सम्बन्धित छ। विदेशी कुटनीतिज्ञलाई पनि कुटनीतिक दायरामा ल्याउन सकिन्छ।’
२०६८ सालमा झण्डै डेढ वर्ष उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री हुँदा श्रेष्ठले विदेशी कुटनीतिज्ञलाई भेट्दा परराष्ट्रका प्रतिनिधि राख्नुपर्ने प्रावधानलाई लागू गराउन जोड दिएका थिए। सामान्यतया, यो प्रावधान पहिलेदेखि नै भएको भए पनि आफूले कार्यान्वयनमा जोड दिएको उनले बताए।
भारतीय राजदूतसँगको भेटमा आफूले मुख्तया तीन वटा विषयमा जोड दिएको उनले बताए।
‘देशको सार्वभौसत्तालाई, भौगोलिक अखण्डतालाई मान्नु पर्छ, अहस्तक्षेपको नीति लिनुपर्छ। दुई देशको पारस्परिक लाभ र ताजा हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्छ। एक अर्का देशको संवेदनशिलता र जायज सरोकार छन् र आफ्नो राष्ट्रको हितको विरुद्धमा जाँदैन भने त्यसलाई सम्बोधन गर्न तयार हुनपर्छ’ उनले भने।
लिपुलेक लिम्पियाधुरा र कालापानीको विषयमा वार्ताका लागि तत्काल तत्परता देखाउन आफूले भनेको श्रेष्ठले बताए। ‘यसलाई उच्च राजनीतिक र कुटनीतिक तहमा तुरुन्तै वार्ता गरेर ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सम्बोधन गर्नपर्छ’ उनले भने।
इपिजीको प्रतिवेदन बुझ्नपर्ने विषय समेत आफूले उठाएको उनले बताए। नयाँ सिराबाट नेपाल भारत सम्बन्धलाई लैजानुपर्नेमा आफूले जोड दिएको श्रेष्ठले बताए। दुई देशको बहुआयमिक सम्बन्ध रहेकाले यसलाई उदाहरणीय सम्बन्धको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ।
भारतीय राजदूत क्वात्राले दुई देशको सम्बन्धबारे आएका धारणालाई सम्मान गर्ने भन्दै वार्ताको बारेमा परारष्ट्र मन्त्रालयलाई जानकारी गराएको बताएका थिए।