प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ।
मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो।
त्यस्तै, दुई अध्यक्षहरूको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुन सक्ने बताइएको छ।
स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेकाले दुई अध्यक्षले छलफल गरेर अघि बढ्ने एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।
आइतबार बसेको सचिवालय बैठकले समेत मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो।
'यही दिन मन्त्रिपरिषद पुनर्गठन हुन्छ भनेर त भन्न सकिँदैन।तर अब छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,'ती सचिवालय सदस्यले भने,'मन्त्रिपरिषदमा कसलाई लैजाने र कति जनालाई हटाउने भन्ने दुई अध्यक्षले छलफल गरेर निर्णय गर्नुहुन्छ।'