सरकारले नेपाल र चीनबीच सीमा विवाद नभएको बताएको छ।
बुधबार नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीचमा सीमा विवाद नभएको बताएका हुन्।
उनले हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा पनि आएको बताए।
त्यति बेला पनि सरकारले गृह, परराष्ट्र नापी सहितको छानविन समिति बनाएको र टोलीले स्थलगत अध्ययन गरेको उनकाे भनाइ छ।
त्यतिबेला बनेका घरहरू नेपाल-चीन सीमा भन्दा एक किलोमिटर चीनतर्फ चिनियाँ भूभागमै बनेको भनेर प्रतिवेदन आएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
'अहिले पनि त्यही ठाउँमा घरहरू बनाएको भन्ने जानकारी प्राप्त भएको छ,' उनले भने, 'नेपाल-चीनबीचमा सीमा समस्याहरू छैनन्। कहीं कतै त्यस्ता समस्या देखिए पनि बसेर छलफल गर्ने साैहार्द्ध सम्बन्ध हाम्रो छँदैछ।'
अहिले हुम्लाबाट यसबारे अध्ययन गर्न पुगेको टोली फर्किएपछि लिमी उपत्यकाकाे सीमाबारे थप जानकारी गराउने उनले बताए।