प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो विवादतर्फ नफर्किने प्रतिवद्धता जनाएका छन्।
स्थायी कमिटी बैठकका निर्णयलाई अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै अध्यक्षद्वयले विगतमा जस्तो अन्तरविरोधपूर्ण विवाद नहुनेसमेत वाचा गरेका छन्।
'पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने,' दुई अध्यक्षले जारी गरेको अपानिमा भनिएको छ।
सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप-प्रत्यारोप बन्द गर्ने र आफ्नो असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न पनि अपानिमा भनिएको छ। गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिनसमेत दुई अध्यक्षले निर्देशन दिएका छन्।
नेकपाले अराजकता,अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गर्नेलाई विधानअनुसार अनुशासनको कारबाहीसमेत गर्ने जनाएको छ।
सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागितालगायत राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनमा लागु गर्ने उल्लेख छ।
नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७३ जनामात्रै महिला रहेका छन्। त्यस्तै ४५ सदस्यीय स्थायी कमिटीमा २ जना महिला छन् भने ९ सदस्यीय सचिवालय महिलाविहीन छ।
पार्टीको प्रचार संयन्त्रलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने र सञ्चारमाध्यममा पार्टी हितविपरितका अनाधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउनेसमेत अपानिमा उल्लेख छ।
वेवसाइट तथा अन्य डिजिटल प्लेटफर्ममा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताका अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्नसमेत दुई अध्यक्षले निर्देशन दिएका छन्।
पार्टीमा विवाद हुँदा देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको अध्यक्षद्वयको भनाइ छ।
'बैठक चल्दै गर्दा हामी यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छौं वा सक्तैनौं? पार्टीको एकता अक्षुण्ण रहन्छ वा रहँदैन? भन्नेसम्मको अवस्था उत्पन्न भयो,' अपानिमा भनिएको छ,'यस पार्टीमा विग्रह र विभाजनको अपेक्षा गरेका देशी-विदेशी प्रतिक्रियावादी शक्ति उत्साहित हुने र पार्टीका नेता-कार्यकर्ता, सदस्य तथा आम नेपाली जनता चिन्तित र निराश हुने सम्मको अवस्था देखापर्यो।'
असार १० गतेदेखि सुरू भएको नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्म आइपुग्दा पार्टी विभाजनको संघारमा पुग्न लागेको हो कि जस्तो भएको थियो। साउन १३ गते बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा अनिश्चितकालका लागि स्थगित गरेको भन्दै ओलीइतरका सदस्यले बैठक गरेका थिए। बैठकमा २९ जना स्थायी कमिटी सदस्य सहभागी थिए।
साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएसँगै नेकपा विवाद समाधानको दिशामा गएको हो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल थिए।
कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। भदौ १८ गते बसेको सचिवालय बैठकमा यसलाई पेश गरिएको थियो। प्रतिवेदनकै आधारमा दुई अध्यक्षले भदौ २६ गते बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए। त्यही बैठकसँगै नेकपामा जारी विवाद समाधान भएको हो। अपानिमा पनि पौडेल नेतृत्वको कार्यदलको भूमिका महत्वपूर्ण रहेको उल्लेख छ।
'अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटी बैठकसमेत अवरूद्ध हुन गएको परिस्थितिको गम्भीरतालाई महसुस गरिएको छ। विशेषत: नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवं विकास गर्ने संकल्प गर्दछ,' अपानिमा भनिएको छ,'सबैखाले प्रतिक्रियावादी तथा अवसरवादी षडयन्त्र दाउपेचलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, नि:स्वार्थ एवं सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताका साथ उभिने प्रतिज्ञा गर्दछ।'