नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेर मात्र पार्टी एकताको काम सम्पन्न नहुने बताएका छन्।
स्थायी कमिटी बैठकमा १७ बुँदे सुझाव-धारणा पेश गर्दै वरिष्ठ नेता नेपालले एकताको सन्देश दिन साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुनेगरी कमिटी निर्माण गर्नुपर्ने बताएका हुन्।
'यो दुई पार्टी बीचको एकता हो। पार्टी एकता मूलतः साविक कमिटीहरू बीचको एकता हो भन्ने बुझ्नुपर्छ,' उनले भनेका छन्,' अध्यक्षहरू नै पार्टीका प्रमुख हुन्। तर यसलाई दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न सकिँदैन। यो समग्र पार्टी पंक्तिको एकता हो। त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोहीअनुसार जिम्मेवारी दिनुपर्छ।'
पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र 'सर्कुलर' अनुरुप साविक कमिटीका सिनियरलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्ने भन्दै उनले अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने सुनिश्चितता गर्नुपर्ने सुझाव दिएका छन्।
सबै तहमा र सबै व्यक्तिको हकमा 'एक व्यक्ति, एक प्रमुख जिम्मेवारी' कार्यान्वयन गरे मात्रै विशाल पार्टीमा कामको सन्तुलन मिल्ने उनले उल्लेख गरेका छन्।
पार्टी बैठक नियमित एवम् विधानले तोकेको अवधिमा अनिवार्य बस्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
'बैठकमा पर्याप्त छलफल गराउनुपर्छ र व्यक्त विचारका आधारमा विधान अनुसारको प्रक्रिया अनुरुप निर्णय गर्नुपर्छ,' उनले भनेका छन्,' यसबाहेक तत्काल समस्याहरू आउँदा वा महत्वपूर्ण निर्णयहरू गर्ने बेलामा पार्टीका औपचारिक-अनौपचारिक बैठक बस्नुपर्छ। र, कमिटीले निर्णय गर्ने साथै नेतृत्वका बीचमा समझदारी निर्माण गर्ने काम गर्नुपर्छ।'
उनले वरिष्ठता र क्षमताका आधारमा जिम्मेवारी र प्राप्त जिम्मेवारीको कार्यसम्पादन मूल्यांकनका आधारमा पदोन्नति वा यथाजिम्मेवारी दिनुपर्ने उल्लेख गरेका छन्।
'चाकरी र मूल नेतृत्वसँग सामिप्यताका आधारमा होइन, काम र क्षमताका आधारमा प्रत्येकलाई आफ्नो भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्छ। अनि मात्र पार्टीमा आकर्षण बढ्छ,' उनले भनेका छन्, 'पार्टीभित्र झाँगिएको गैर-सर्वहारा एवम् कम्युनिस्ट प्रवृत्ति र चरित्रविरुद्ध व्यापक शुद्धीकरण अभियान र वैचारिक प्रशिक्षण अभियान चलाउनु अत्यावश्यक छ।'
सरकारमा वा राजनीतिक नियुक्तिमा पठाउने व्यक्तिको निर्णय, पार्टीको सम्बन्धित जिम्मेवार निकायबाट गर्नुपर्ने उनको सुझाव छ।
'सरकार पार्टीको नीति अनुरूप घोषणापत्रका लक्ष्य हासिल गर्ने गरी सञ्चालन गर्नुपर्छ। पार्टीले सरकार सञ्चालन गर्नुपर्छ,' आफ्नो १७ बुँदे सुझावमा उनले भनेका छन्, 'सरकारले गर्ने महत्वपूर्ण निर्णय तथा दीर्घकालीन महात्व राख्ने विषयलाई पार्टीमा छलफल गराउनु पर्छ र आवश्यकता अनुसार विज्ञको राय लिनुपर्छ।'
समाजवादको सिद्धान्त र नेपाली व्यवहारबारे नेतृत्व पंक्तिले एउटै राय बनाउन घनिभूत र व्यापक छलफल तथा बहस चलाउनुपर्नेमा उनले जोड दिएका छन्।
भ्रष्टाचारका प्रत्येक मुद्दामा सरकार एवम् पार्टी दुवै संवेदनशील हुनुपर्ने भन्दै वरिष्ठ नेता नेपालले नेता तथा कार्यकर्ताको जीवनशैली सादगीपूर्ण र पारदर्शी हुनुपर्ने उल्लेख गरेका छन्।
'प्रत्येक उजुरीको, पार्टी तथा राज्यका सम्बन्धित अंगबाट तत्काल निष्पक्ष छानबिन गर्नुपर्छ। दोषीमाथि कडा कारबाही गर्नुपर्छ। गम्भीर जनसरोकार र सुशासनका कुरामा कसैलाई छुट दिनु हुँदैन,' उनले भनेका छन्, 'सुशासनका बाधक विषयलाई ऐन-कानुन संशोधन गरेरै भए पनि हटाउनुपर्छ। र, जनउत्तरदायी एवम् पारदर्शी शैली अपनाउनुपर्छ। तदअनुरुप प्रशासन लगायत सबैलाई परिचालन गर्नुपर्छ। सेटिङ प्रणाली अन्त्य गर्नुपर्छ। दलाल, पुँजीपति र विचौलियाको स्वार्थ पूर्तिको माध्यम बन्नु हुँदैन।'
राजनीतिक तथा अन्य नियुक्ति गर्दा एउटा तहमा छलफल चलाई समाजमा बदनाम नभएका एवम् कसैका विरुद्ध निम्नस्तरको गाली-गलौज तथा सार्वजनिक अपमान नगरेको र नगर्ने व्यक्तिलाई मात्र नियुक्ति दिनुपर्नेमा उनको जोड छ।
उनले राज्यशक्तिको दुरुपयोग गरी पार्टीको आन्तरिक प्रतिस्पर्धा प्रभावित पार्न नहुने समेत बताएका छन्।
विगतमा पार्टी निर्माणमा सबैले योगदान दिएका हुनाले उनीहरूको काम प्रशंसा तथा उनीहरूप्रति सम्मानभाव राख्नुपर्ने भन्दै नेपालले आपसी सम्बन्ध गहिरो हार्दिकतापूर्ण हुन नसके पनि न्यूनतम समझदारी निर्माण हुनुपर्ने उल्लेख गरेका छन्।
'कुनै पनि समकक्षी नेताका बारेमा, भेट्न जाने अरूसँग खिसीटिउरी गर्ने र उडाउने काम गर्नु हुँदैन,' उनले भनेका छन्, 'एउटालाई प्रयोग गरेर अर्कोलाई देखाइदिने वा समाप्त पार्ने सोचाइ गलत हो। त्यस्तो काम गर्नु हुँदैन।'
सरकारले पार्टीसँग समन्वय गर्ने तथा पार्टीले सरकारका कामलाई सहजीकरण गर्नुपर्ने भन्दै उनले सम्बन्धित तहका उच्च नेतृत्वको अनौपचारिक चुस्त टिम बनाएर सरकारको काम प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्।
पार्टी र सरकारको जनतासँग पानी र माछाको जस्तो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै उनले पार्टी एवम् सरकार जनताको सुखदुःखको साथी, आशा एवम् भरोसाको केन्द्र हुनपर्ने सुझाव दिएका छन्।