नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री हुने प्रस्ताव पेश हुँदैछ।
भदौ २६ गते बस्न लागेको स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमा यस्तो उल्लेख गरिएको छ।
त्यस्तै प्रचण्डलाई कार्यकारी अधिकारसहित समग्र पार्टी कामको जिम्मेवारी दिने भनिएको छ। यसअघि नेकपा विवाद मिलाउन गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई परिमार्जन गरी दुई अध्यक्षले प्रस्ताव तयार पारेका हुन्।
प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यविधि स्पष्ट गर्ने शीर्षकमा यसलाई अझै प्रष्ट पार्न खोजिएको छ। ‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेको छ। एउटा समस्या समाधान भएको केही समय निबत्दै नयाँ रुप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ,’ प्रस्तावमा भनिएको छ, ‘यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ। वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्छ।’
पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयारी गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदअनुरुप बैठक सञ्चालन गर्ने समेत प्रस्तावमा भनिएको छ। त्यस्तै, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सवल गराउने समेत भनिएको छ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने,’ प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष कमरेड प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठक सञ्चालन, निर्णय कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने।’
अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउ समन्वय गर्नेसमेत प्रस्तावमा भनिएको छ।