प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गरेका छन्।
सोमबार नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको हो। उनको निधनपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दुख व्यक्त गरेका हुन्।
ओलीले लेखेका छन्, 'भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी बितेको समाचारले मलाई एकदम दु:खी बनाएको छ। सरकार र भारतीय नागरिक तथा शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक संवेदना प्रकट गर्न चाहन्छु।'
साथै उनले नेपालका एक साथी गुमाएको समेत बताएका छन्। 'उनको निधनमा नेपालले एक महान् साथी गुमाएको छ। हामीले उनको सार्वजनिक जीवनको विभिन्न क्षमतामा नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाएको योगदान सम्झिन्छौं,' ओलीले अर्को ट्वीटमा थपेका थिए।
पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको खबर उनका छोरा अभिजितले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका थिए। अगष्ट १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि मुखर्जीलाई अस्पताल भर्ना गरिएको थियो।
त्यही बेला उनको दिमागमा रगत जमेपछि अपरेशन समेत गरिएको थियो। त्यसयता उनी कोमामा थिए। 'भारी मुटुका साथ यो जानकारी गराउँदैछु आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थना, दुवाका बावजुद मेरा बुबा प्रनव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,' अभिजितले ट्वीटरमा व्यक्त गरेका छन्।
भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।